इलाम – इलामको सन्दकपुर गाउँपालिका–३ कोइराला गाउँमा संकास्पद अवस्थामा बसिरहेको एक युवकलाई प्रहरीले एसएलआर राइफलका राउण्डसहित नियन्त्रणमा लिएको छ।
मिति २०८३ वैशाख ११ गते साँझ करिब ८ बजे प्रहरी चौकी बन्दुके इलाममा प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इलाम नगरपालिका–५ बिब्ल्याटे बस्ने जितबहादुर राईका छोरा अन्दाजी १८ वर्षीय विश्वास राईलाई चेकजाँच गरेको थियो।
जाँचका क्रममा उनको साथमा रहेको निलो रंगको रुकस्याक झोलाभित्र एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएमका २५ थान राउण्ड, चार्जर ब्रिज ५ थान, बिन्दुली १ थान फेला परेको प्रहरीले जनाएको छ। साथै नगद रु. १६ हजार ७२५, अलैँची टिप्न प्रयोग हुने सिकल ४ थान, हँसिया १ थान, रेड्मी मोबाइल १ थान र आईटेल कम्पनीको सिम तथा ब्याट्री नभएको मोबाइल १ थान समेत बरामद गरिएको छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले काठमाडौँको रत्नपार्क क्षेत्रस्थित प्रहरी कार्यालयबाट जेन – जेड आन्दोलनका बेला उक्त राउण्ड लुटेको दाबी गरेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।




