

काठमाडौं- सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको छ ।
शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो । उनीहरुलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ ।
उनीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनका लागि खटिएको हो ।

आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले सुकुमवासीहरुको अवस्था बुझ्न आयोगको टोली खटिएको जानकारी दिए ।
आयोगले सुकुमवासीहरुको व्यवस्थापनको सन्दर्भमा २०६९ सालमा सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै यही वैशाख ११ गते पत्राचार गरेको थियो । आयोगले २०६९ साल जेठ १ गते वास्तविक सुकुमवासीहरुको पहिचान गरी उनीहरुको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सरकारलाई भनेको थियो ।
साथै अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि निर्देशन दिएको थियो ।



