Aamsanchar

झापामा स्कुल बस दुर्घटना

Author Image
बिहिवार, वैशाख १७, २०८३

झापा –  झापाको कचनकवल गाउँपालिका–३ दलकीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेण्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र–१–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार करिब १८–२० जना विद्यार्थीमध्ये एक दर्जन विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते विद्यार्थीहरूमध्ये अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतीक्षा राजवंशी, वर्तिका राजवंशी, सुमन राजवंशी, सृजना राजवंशी लगायतका रहेका छन् ।

अधिकांश विद्यार्थीलाई सामान्य चोटपटक लागेको र अवस्था खतरा बाहिर रहेको बताइएको छ । उनीहरूलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएको छ । एक बालकको निधारमा चोट लागेको छ भने दुई जना विद्यार्थीलाई अभिभावकले अन्यत्र उपचारका लागि लगेका छन् ।

 

दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् भने उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन प्रहरी चौकी पथरियाको नियन्त्रणमा राखिएको छ ।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर