Aamsanchar

धोबीखोला किनारमा रहेको ७ तले भवनमा डोजर चलाइयो

Author Image
आइतवार, वैशाख २०, २०८३

काठमाडौँ –  अनामनगरस्थित रुद्रमती (धोबीखोला)किनारमा रहेको विवादास्पद ७ तले भवनमा डोजर चलाइएको छ। संघीय सरकारले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आइतबार डोजर चलाएको हो ।

घरधनी इन्द्र चाम्लिङले घर आोूले करिब ५ वर्षअघि निर्माण सम्पन्न गरेको बताए । उनले भवनको नक्सा पास भएको र आफूले नियमित रूपमा कर तथा राजस्व तिर्दै आएको दाबी गरे।

वडा कार्यालयबाट नक्सा पास गराएर सबै प्रक्रिया पुर्‍याएर बनाएको घरमा आज अचानक डोजर चल्नुले मलाई अचम्मित बनाएको छ,’चाम्लिङले भने। उनले आफ्नो घरमा भएको क्षतिप्रति चित्त दुखाउँदै प्रशासनको काम गर्ने शैलीमाथि प्रश्न उठाए।

भवन भत्काउने कार्य भइरहँदा चाम्लिङले प्रधानमन्त्री बालेन शाहलाई एक ‘देशभक्त नेता’ को रूपमा स्वीकार गरे । उनको काम गर्ने जोशको प्रशंसा गरे पनि आफूसँग भेटघाट र छलफलको मौका नदिइएकोमा गुनासो गरे। उनले भने, ‘हामीले उहाँलाई भेट्न धेरै प्रयास गर्‍यौँ, तर सफल हुन सकेनौँ। एउटा नागरिकको कुरा सुनिदिएको भए अझ राम्रो हुने थियो।’

चाम्लिङले आफ्नो पीडा व्यक्त गर्ने क्रममा एउटा रोचक र व्यङ्ग्यात्मक टिप्पणी समेत गरे। उनले भने, ‘म चाहन्छु कि नेपालका सबै सुकुम्वासीहरूको पनि यस्तै ७ तले घर होस् र उनीहरू पनि महलमा बस्न पाऊन्।ु आफूले दुःख गरेर बनाएको सम्पत्तिमा डोजर चल्दाको पीडालाई उनले सुकुमबासी व्यवस्थापनको प्रसङ्गसँग जोडेर सरकार र महानगरको नीतिको आलोचना गरे।

उक्त भवनमा यसअघि विभिन्न मिडिया कार्यालय, स्पा र रेस्टुरेन्टहरू सञ्चालनमा थिए। महानगरले खोला किनारको मापदण्ड मिचेको र स्वीकृत नक्सा भन्दा बढी संरचना बनाएको भन्दै माथिल्लो तलाहरू र नक्सा विपरीतका भागहरू भत्काएको हो। घरधनी चाम्लिङले अदालतको आदेश र आफ्नो प्रमाणका बारेमा कुरा गरे पनि महानगरले भने कानुनी प्रक्रिया पुर्‍याएरै अवैध संरचना हटाइएको जनाएको छ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर