

काठमाडौ – स्कटल्यान्डलाई हराउँदै नेपाल ‘ए’ ले जित दर्ता गरेको छ । माथिल्लो मूलपानी मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।
नेपाल ‘ए’ ले दिएको २७८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८।२ ओभरमा २३२ रन बनाउँदै अलआउट भएको हो । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले उनले ७३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । मार्क वाटले ३७ रन बनाए ।
यी दुई ओपनरले पहिलो विकेटको लागि ८७ रनको साझेदारी बनाएका थिए । ब्रान्डन म्याकमुलेनले २१, म्याथयू क्रसले २२ र ओलिभर डेविसनले १७ रन बनाए । ओलिभरले आठौं विकेटको लागि ज्याक जार्भिससँग ५१ रनको साझेदारी बनाए । ज्याकले व्याक्तिगत ४५ रन बनाए । ज्यासपर डेविसन १४ रनमा अविजित रहे ।

नेपालको लागि बलिङतर्फ रासिद खानले सर्वाधिक ३ विकेट लिए । साहब आलम, युवराज खत्री र वसिर अहमद ले समान २–२ विकेट लिए । कुशल मल्लले १–१ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रन बनाए । उनले ६५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ओपनरद्वय मयन यादव र अनिल शाहले क्रमशः ४५ र १८ रन बनाए ।
सन्दीप जोराले ३४, वसिर अहमदले १७, पवन सर्राफले ३१ रन बनाए, रासिद खान १४ र दिपकप्रसाद डुम्रे २३ रनमा अविजित रहे । स्कटल्यान्डका लागि ब्राड्ले जेम्स करी र साफ्यान सरिफले २–२ विकेट लिए । ज्याक जारभिस, ओलिभर डेभिसन र मार्क वाटले १–१ विकेट लिए । नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेल शुक्रबार अमेरिकासँग खेल्ने छ ।



