

काठमाडौं – आइसीसी विश्वकप लिग–२ को जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रन बनाउँदै अलआउट भएको थियो ।
नेपालले दिएको २५७ रनको विजयी लक्ष्य पछ्याएको ओमान ३९.४ ओभरमा १७५ रन बनाउँदै अलआउट भएको हो । ओमानमाथि जित निकाल्दै नेपालले जारी श्रृंखलाको ४ मध्ये ३ खेल जितेको छ । नेपालको जितमा नेपालका तीव्र गतिका बलर गुल्सन झाले उत्कृष्ट बलिङ गरे । उनले ९ ओभर बलिङ गर्दै ५ विकेट लिँदै ओमनको ब्याटिङ ध्वस्त पारेका थिए ।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए । उनले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर ब्याटर तथा आजको खेलमा डेब्यू गरेका डेब्यूटेन्ट हशनैन उल वहाबले २९ रन बनाए। उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर जतिन्दर सिंहले १२ रन बनाए ।

२३.२ ओभरमा ५ विकेटको क्षतीमा ओमानले १०० रन पूरा गरेको हो । त्यसपछि पनि ओमानको ब्याटिङ जम्न सकेन । हमाद मिर्जाले ३४ रन बनाए । ओमानको लागि सातौं विकेटको रुपमा वसिम अलि १० रनमा दिपेन्द्र सिंह ऐरीको हातबाट एलबीडब्ल्यू आउट भए । नेपालका लागि बलिङतर्फ गुल्सन झाले सर्वाधिक ५ विकेट लिए । नन्दन यादव,करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामीछानेले १–१ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ९४ रनको पारी खेले । उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। उनले दोस्रो विकेटको लागि अर्जुन कुमालसँग १२३ रनको साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । अर्जुनले ४८ रनको पारी खेले ।
पावरप्ले सकिँदा नेपालले १ विकेटको क्षतिमा २९ रन बनाएको थियो । नेपालले पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीलाई गोल्डेन डकको रुपमा गुमाएको हो ।
२३.४ ओभरमा १ विकेटको क्षतिमा नेपालले १०० रन पूरा गरेको थियो । कप्तान रोहितकुमार पौडेल ९ रनमा क्याच भए । गुल्सन झा १७ रनमा एलबीडब्ल्यू भए । दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए। करण केसी गोल्डेन डक भए । सन्दीप लामीछाने १ रनमा रनआउट भए । आरिफ शेखले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दै ४९.५ ओभरमा ४३ रनमा क्याच हुँदै नेपालको अन्तिम विकेटको रुपमा पेभेलियन फर्किए। ओमानका लागि नदिम खानले सर्वाधिक ३ विकेट लिए ।
सकिल अहमद र हषनैन शाहले समान २–२ विकेट लिँदा जितेन रमानान्डी र आर्यन विश्ट १–१ विकेट लिए । जारी श्रृंखलामा नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । दोस्रो खेलमा ओमानसँग नेपाल डीएलएस पद्धतीमा १०२ रनले हार बेहोरेको थियो । तेस्रो खेलमा नेपालले यूएईलाई डीएलएस पद्धतीमा ६ रनले हराएको थियो ।



