
काठमाडौं – नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीका कारण कोही सुकुम्बासी नभएको बताएका छन् ।
जावलखेलस्थित स्टाफ कलेजमा हिजोदेखि शुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा सुकुम्बासी समस्या सुल्झाउन लागिरहेको बताउँदै प्रश्न गरे, ‘रास्वपाका कारण सुकुम्बासी भएको कुनै एउटा घर छ ?’
उनले देशभरमा रास्वपाका कारण सुकुम्बासी भएको एउटा परिवार र एउटा मान्छे देखाउन समेत चुनौती दिए । उनले पुराना दलहरुले भोट बैंकका लागि उनीहरुका समस्यालाई आफ्ना लागि प्रयोग गरेको जगजाहेर रहेको बताए । उनले सुकुम्बासी समस्या समाधान गर्न आफूहरु लागिरहेको बताउँदै यसलाई अझ राम्रो तरिकाले समाधान गर्न सकिने बताए । खोला किनारमा जोखिममा रहेका र हाकाहाडी जग्गा हडपिएका कारण बस्ती खाली गर्ने कदम चालिएकोले त्यस भन्दा बाहेकका कसैले पनि आत्तिन नपर्ने बताए ।
उनले भने, ‘त्यसैका लागि छाती थाप्छु भनिएको हो, सरकारले सबैलाई लालपूर्जा दिन्छ ।’ पुराना दलहरुले ३० वर्षदेखि सुकुम्बासी समस्या खडा गरेको बताउँदै सभापति लामिछानेले छाती आफूहरुले थापिरहेको बताएका छन् । उनले भने, ‘जबसम्म भूमिहीनले लालपूर्जा पाउँदैनन्, हामी छाती हटाउँदैनौं, हाम्रो छाती त्यहि छ ।’ उनले सरकारले व्यवहारिक रुपमा सुकुम्बासी समस्या समाधान गर्ने समेत दावी गरे ।



