सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्दै नेपाललाई क्षेत्रीय ‘टेक हब’ बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर ११ मा सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ तथा कृत्रिम बुद्धिमत्ता ९एआई० आधारित कम्प्युटेशन निर्यातलाई विशेष प्रवर्धन गरिने उल्लेख गरिएको छ।
सरकारले डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर तथा सार्वजनिक डिजिटल पूर्वाधार विकासमा जोड दिने जनाएको छ। यसमार्फत नेपाललाई सूचना प्रविधि तथा डिजिटल सेवाको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण तथा सरकारी सह–लगानीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। साथै अनुसन्धान, नवप्रवर्तन तथा प्रविधि विकासमा हुने खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने सरकारको योजना छ।

सरकारको यो घोषणालाई नेपालमा सूचना प्रविधि उद्योग विस्तार, रोजगारी सिर्जना तथा विदेशी मुद्रा आर्जन बढाउने दीर्घकालीन रणनीतिका रूपमा हेरिएको छ।
विशेषगरी युवा जनशक्ति, स्टार्टअप कम्पनी तथा डिजिटल उद्यमलाई लक्षित गर्दै ल्याइएको यो कार्यक्रमले नेपालमा प्रविधिमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।


