बिर्तामोड। झापा ईनर्जी सोलार परियोजनाको अपार सफलतापछि सोही समूहले बिर्तामोडमा मुख्य कार्यालय रहने गरी “पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लि.” सञ्चालनमा ल्याएको छ । कम्पनीले इच्छुक लगानीकर्ताका लागि संस्थापक शेयर खुला गरेको जनाएको छ ।
कम्पनीको प्रमुख कार्यालय झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको छ भने शाखा कार्यालय काठमाडौंको गौशालास्थित पशुपति भिजनमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका लगानी व्यवस्थापक सुवास भट्टराईका अनुसार संस्थापक शेयरमा न्यूनतम १ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म लगानी गर्न सकिने व्यवस्था गरिएको छ । लगानीकर्तालाई सहज बनाउने उद्देश्यले किस्ताबन्दीमा रकम बुझाउन सकिने सुविधा समेत प्रदान गरिएको उनले बताए ।
उनका अनुसार १ लाख रुपैयाँ मात्र लगानी गर्नेले पहिलो किस्तामै सम्पूर्ण रकम बुझाउनुपर्नेछ । त्यसभन्दा माथिको लगानी गर्नेले भने २५ प्रतिशतका दरले चार किस्तामा रकम जम्मा गर्न सक्नेछन् । पहिलो किस्ता वैशाख मसान्तभित्र, दोस्रो किस्ता साउन १५ गते, तेस्रो किस्ता कात्तिक १५ गते र अन्तिम किस्ता माघ १५ गतेसम्म बुझाइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

संस्थापक शेयरमा लगानी गर्न इच्छुक व्यक्तिले माछापुच्छ्रे बैंकको कम्पनीले तोकेको खातामा रकम जम्मा गरी भौचरको सक्कल प्रति, नागरिकता तथा राष्ट्रिय परिचयपत्रको फोटोकपीसहित कम्पनीको कार्यालयमा उपस्थित भएर आवेदन फाराम भर्नुपर्ने व्यवस्था रहेको छ ।
कम्पनीले ऊर्जा, पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा दीर्घकालीन लगानी विस्तार गर्ने लक्ष्यसहित संस्थापक शेयर आह्वान गरिएको जनाएको छ । झापा ईनर्जी सोलार परियोजनाको सफलतापछि नयाँ इन्भेष्टमेन्ट कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा कम्पनीले गरेको छ ।


