झापा, वैशाख ३१ । स्थानीय तहमा करोडौँका योजना चर्चामा आउने गर्छन् । तर झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले भने न्यून बजेटमै प्रत्यक्ष जनताको जीवन छुने काम गरेर उदाहरण प्रस्तुत गरेको छ ।
वडाले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत जम्मा ६० हजार रुपैयाँ खर्च गरेर चार सामुदायिक विद्यालयका पूर्वप्राथमिक तहका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेपछि स्थानीयवासीबाट प्रशंसा बटुलिरहेको छ । धेरैले यसलाई “सानो लगानी, ठूलो प्रभाव” भएको कार्यक्रमको रूपमा व्याख्या गरेका छन् ।
बुधबार वडाले झिलझिले माध्यमिक विद्यालय, भगवती आधारभूत विद्यालय, अरुणोदय आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय मा अध्ययनरत नर्सरी तथा केजी तहका १६४ जना विद्यार्थीलाई माइलस्टोन पब्लिकेसनका पुस्तक उपलब्ध गराएको हो ।

कार्यक्रमअन्तर्गत नर्सरीका ७१ र केजीका ९३ विद्यार्थी लाभान्वित भएका छन् । वडाका जनप्रतिनिधि स्वयं विद्यालय पुगेर अभिभावककै उपस्थितिमा विद्यार्थीलाई पुस्तक हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष सन्तकुमार फेउदिन का अनुसार सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि पूर्वप्राथमिक तहका बालबालिका भने त्यसबाट बाहिर छन् । आर्थिक रूपमा कमजोर परिवारका अभिभावकलाई राहत दिन वडाले आफ्नै स्रोतबाट यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
“बालबालिकाको सिकाइको आधार पूर्वप्राथमिक तहबाट सुरु हुन्छ,” अध्यक्ष फेउदिनले भने, “तर धेरै अभिभावकले निजी प्रकाशनका पुस्तक किन्न सक्ने अवस्था हुँदैन । त्यसैले हामीले यो अभियान सुरु गरेका हौँ ।”
कार्यक्रममा वडा सदस्यहरू टिका दर्जी, विवेक थिङ, दोर्जे, ज्ञानप्रसाद लुइटेल र रिता तामाङको पनि सहभागिता थियो ।
विद्यालयका प्रधानाध्यापकहरूले पनि वडाको कदमलाई सकारात्मक सुरुआतको रूपमा लिएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई यस्तो सहयोगले विद्यालयप्रति आकर्षण बढ्ने उनीहरूको भनाइ छ ।
अभिभावकहरूले समेत कार्यक्रमले राहत पुगेको बताएका छन् । झिलझिले माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बुढाथोकीले निजी प्रकाशनका पुस्तकको मूल्य धेरै हुँदा विपन्न परिवारलाई समस्या हुने गरेको बताए ।
“साना कक्षाका किताब किन्न पनि धेरैलाई गाह्रो पर्छ,” उनले भने, “वडाको सहयोगले अभिभावकलाई ठूलो सहज भएको छ ।”
वडाका अनुसार आगामी वर्ष शिक्षा क्षेत्रमा थप कार्यक्रम ल्याइनेछ । स्मार्ट बोर्ड जडानदेखि विद्यार्थी आवतजावत सहज बनाउन ‘सिटी सफारी’ सञ्चालन गर्ने तयारी समेत अघि बढाइएको छ ।
स्थानीयवासीका अनुसार पछिल्ला वर्षमा वडा नम्बर ८ ले शिक्षा, स्वास्थ्य र प्रविधिमैत्री योजनालाई प्राथमिकता दिँदै आएको छ । कम बजेटमै प्रत्यक्ष जनलाभ हुने कार्यक्रम सञ्चालन गरेपछि अहिले यो अभियान शिवसताक्षीभर चर्चाको विषय बनेको छ ।


