Aamsanchar

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

Author Image
आइतवार, जेठ ३, २०८३

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तत्कालीन महासचिव मदन भण्डारी र संठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज विविध कार्यक्रम गरेको छ।

एमालेले मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना भएको छ। अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।

जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।

 

स्मृति दिवसका अवसरमा एमाले अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभई यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको दाबी गरेका छन्। ‘मदन भण्डारी ( जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्। जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो। मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ।’ उनले भने, ‘जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ। प्रिय मदन( आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान !’

यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितले देखेको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी रहेको बताइन्। उनले भनिन्, ‘उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली भनेको उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्नु हो। त्यसैले, यो स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन म सबैमा आग्रह गर्दछु। जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढौं।’

मदनकी पत्नीसमेत रहेी भण्डारीले गौरवका साथ स्मरण गर्ने नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गरेको जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताइन्।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर