Aamsanchar

पहिलो पटक सशस्त्रकी अनिताद्वारा सगरमाथा आरोहण, बन्यो रेकर्ड

Author Image
आइतवार, जेठ ३, २०८३

ओखलढुङ्गा – सशस्त्र प्रहरी बल, नेपालकी महिला खेलाडी एवं सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयाँ इतिहास रचेकी छिन् । अनिताले जेठ ३ गते आइतबार (मे १७) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी हुन् ।

सशस्त्र प्रहरी बलको तर्फबाट सगरमाथाको शिखर चुम्ने उनी तेस्रो एपीएफ कर्मचारी हुन् भने एपीएफका महिला कर्मचारीहरूमध्ये इतिहासमै पहिलो महिला आरोही बन्न सफल भएकी छन् । अनिता सशस्त्र प्रहरी बलमा व्यावसायिक रूपमा आबद्ध एक कुशल खेलाडी समेत हुन् ।

उनी एपीएफको खेलकुद टोलीमा सक्रिय रहँदै विशेष गरी एथलेटिक्स र शारीरिक सुगठन (फिटनेस)विधामा आबद्ध छिन् । खेलकुद क्षेत्रमा प्रदर्शन गर्दै आएको असाधारण शारीरिक क्षमता, सहनशीलता र अनुशासन नै उनको यो ऐतिहासिक हिमाल आरोहणको मुख्य आधार बनेको संगठनले जनाएको छ। खेलकुद मैदानमा प्रदर्शन गरेको ‘स्ट्यामिना’ लाई उनले राष्ट्रिय गौरवको काममा उपयोग गर्दै सफलता प्राप्त गरेकी छन् ।

 

सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा संगठनको प्रतिनिधित्व गर्दै सगरमाथाको सफल आरोहण गर्ने पहिलो कर्मचारी सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेल हुन्, । उनले २०८१ जेठ ७ गते पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसैगरी, दोस्रो आरोहीका रूपमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असइ) दन्तबहादुर छत्यालले २०८२ जेठ ५ गते सफल आरोहण गरेका थिए । यस पटक अनिता कार्कीले सफलतापूर्वक शिखर चुमेसँगै उनी सगरमाथा आरोहण गर्ने तेस्रो एपीएफ कर्मचारी र पहिलो एपीएफ महिला आरोही बन्न सफल भएकी हुन् । अनिताको यो सफलताले नेपालका सुरक्षा निकायमा कार्यरत महिला कर्मचारी र समग्र खेलकुद जगतलाई प्रेरणा दिएको छ ।

Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर