
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षाका लागि काँध थाप्नुपर्ने जिम्मेवारी आएको बताएका छन्।
मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा थापाले एमाले र नेतृत्वकर्ता ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशीविदेशी शक्तिले गरिरहेकाले दुवैको रक्षा गर्ने जिम्मेवारी एमालेजनको काँधमा आएको तर्क गरे।

उनले जेन–जी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय सबैले अध्यक्ष ओलीमाथि गम्भीर षडयन्त्र गरिरहेको दाबी गरे। ‘देशीविदेशी शक्तिहरूले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरुले सञ्चालन गरेका छन्’, उनले भने, ‘नेकपा एमाले र त्यसको नेतृत्वलाई रक्षा गर्ने एउटा गम्भीर जिम्मेवारी हाम्रो काँधमा आएको छ।’

उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि जुन निरन्तर आक्रमण भइरहेकाले त्यसको विरुद्ध सचेत भएर लाग्नुपर्ने वेला आएको पनि बताए।


