बिर्तामोड ।
नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अन्तरघात गरेर आफ्नै पार्टीका उम्मेदवारलाई हराउने पार्टी कार्यकर्तालाई झापाको कनकाई नगरपालिकाबाट कार्वाही शुरु गरेको छ ।

कांग्रेसका उम्मेदवारलाई असहयोग गर्ने, आचारसंहिता उल्लंघन गर्ने, अनुशासनहीन कार्य गर्ने कांग्रेसका उम्मेदवारलाई पराजय गराउन भूमिका खेल्नेलाई कांग्रेसको कनकाई नगर समितिले कार्वाही गरेको हो ।

पार्टीका कनकाई नगरसभापति नेत्रप्रसाद चिमरियाले विहीवार विज्ञप्ति जारी गरी पार्टी महासमिति सदस्य रमेश श्रेष्ठसहित विभिन्न ८ जनालाई कार्वाहीको लागि माथिल्लो निकायमा सिफारिस गरेको जनाएका छन् ।
कार्वाहीको सूचीमा पर्नेहरुमा कांग्रेस महासमिति सदस्य श्रेष्ठ, पूर्व जिल्ला सदस्य सुकदेव पौडेल, सक्रिय सदस्य युवराज संग्रौला, क्षेत्रीय प्रतिनिधि पवन साह, सक्रिय सदस्य सुशील पोखरेल, इन्द्र श्रेष्ठ, निलम कटुवाल ९निल डेबिड० र सदस्य साधारण कुमारमणि पोखरेल रहेको चिमरियाले जनाएका छन् ।

कांग्रेसले सहज रुपमा जित हासिल गर्ने अनुमान गरिएको कनकाई नगरपालिकामा मेयर पदका उम्मेदवार एकराज उप्रेती, उपमेयर पदकी उम्मेदवार कविता बस्नेतसहितका उम्मेदवारले अन्तरघातका कारण अकल्पनीय रुपमा हार व्यहोर्नु परेको कांग्रेसका कार्यकर्ताले बताएका छन् ।
कांग्रेसको कनकाई नगर समितिको चुनावी समीक्षामा अन्तरघात गर्नेलाई कडा कार्वाही गर्नुपर्ने जोडदार आवाज उठेको थियो । पार्टीको वडा समितिको सिफारिस, अनुगमन समिति र अनुशासन समिति तथा मेयर, उपमेयर एवम् अन्य पदका उम्मेदवारको प्रतिवेदनका आधारमा उनीहरुलाई कार्वाहीका लागि सिफारिस गरिएको कनकाई नगर सभापति चिमरियाले बताए ।

