Aamsanchar

बैंकको सुन कर्जा सेवा बन्द

Author Image
शुक्रवार, साउन १३, २०७४

बिर्तामोड । झापाका अधिकांश बैंकले सेवाग्राहीलाई सुन कर्जा सेवा बन्द गरेका छन् । जसका कारण सेवाग्राहीसहित सुन व्यापारी मर्कामा परेका छन् ।
गत असार २६ गते राष्ट्रिय बाणिज्य बैंकमा सुन कर्जा अन्तर्गत राखिएको सुन नक्कली भएको भन्दै बैंकको उजुरीपछि मध्यपुर ठिमी–८का ३२ बर्षीय सुगन प्रजापति पक्राउ परेका थिए । सुन कर्जाका लागि राखिएको सुन नभएर नक्कली भएको बैंकले दावी गर्दै उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । उनी पक्राउ परे लगत्तै अन्य बैंकले पनि सुन चेकजाँच गर्दा १० देखि ११ प्रतिशत मात्र सुन भेटेपछि अधिकांश बैंकले सुन कर्जा बन्द गरेका हुन् ।
बैंकमा राखिएको टन्च मेसिनद्वारा सुन परीक्षण गर्दा शतप्रतिशत सुन देखाए पनि काटेर गाल्दा ११.५५ प्रतिशत मात्र सुन भेटिएपछि बैंकका कर्मचारी सुन देख्नेवित्तिकै तर्सिन थालेका छन् । अधिकांश सेवाग्राही सुन कर्जाका लागि बैंक आए पनि बैंकका कर्मचारीले उनीहरुलाई सुन कर्जा सेवा बन्द भएको भन्दै फर्काउने गरेका छन् । हामीसँग अहिले सुन कर्जा छैन– सनराइज बैंकका क्रेडिट अफिसर सन्तकुमार कार्कीले भने– आन्तरिक समस्याकै कारण सुन कर्जा रोकिएको छ, अर्कै बैंक जानुहोस् । सनराइज बैंकमार्फत पनि प्रजापतिले दुईपटक गरेर २० लाख रुपैयाँ सुन कर्जा लिएका छन् । शुरुमा सुन परीक्षण गरेर राख्दा ९६ प्रतिशत थियो । बाणिज्य बैंकको समस्या आएपछि हामीले पनि त्यो सुन काटेर हेरयौं, ११.५५ प्रतिशत मात्र सुन रहेछ, बाँकी अन्य धातु पाइएकाले अहिले सुन कर्जा बन्द गरिएको छ– कार्कीले भने । बैंकमा भएको कसीमा सुन परीक्षण गर्दा २४ क्यारेट देखिए पनि गाल्दा ११ प्रतिशत मात्र सुन भेटियो– सोही बैंकका सुवोध शर्माले भने । सनराइज बैंकले दुई साताबाट सुन कर्जा बन्द गरेको छ । माथिको आदेश नआउञ्जेल सुन कर्जा बन्द रहने बैंकका क्रेडिट अफिसर कार्कीले बताए ।
यता बाणिज्य बैंकमा राखिएको अधिकांश सुन नक्कली भएको दावी गर्दै बैंकका मेनेजर यतिबेला इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गर्न व्यस्त छन् । उनी दिनहुँ जसो आफूहरु ठगिएको भन्दै उजुरी बोकेर इलाका प्रहरी कार्यालय बिर्तामोड पुग्ने गरेका छन् । बैंकमा राखिएको सुन कर्जाको सुन जाँच्ने मेसिनद्वारा परीक्षण गर्दा २४ क्यारेट देखाउँछ, काटेर हेर्दा ७.७७ प्रतिशत मात्र पाइएपछि सुन कर्जा बन्द गरिएको बैंकका शाखा प्रबन्धक युवराज उप्रेतीले बताए । उनले सुन मापनका लागि उच्च प्रविधि नभित्र्याउँदा समस्या भएको भन्दै उच्च प्रविधि भित्र्याएपछि यस खाले गतिविधि रोकिने बताएका छन् ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर