Aamsanchar

साल्ट ट्रेडिङ कर्पोरेसनसँग कति छ मल मौज्दात ?

Author Image
बुधवार, जेठ १३, २०८३

काठमाडौँ  – साल्ट ट्रेडिङ कर्पोरेसनले आफूसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात रहेको बताएको छ।

बुधवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले चालु आर्थिक वर्षमा करिब १ लाख २६ हजार मेट्रिक टन रासायनिक मल बिक्री गरेको जानकारी दिए। उनले हाल साल्ट ट्रेडिङसँग करिब ३९ हजार मेट्रिक टन मल मौज्दात रहेको बताए।

चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको संकट, बजेट अभाव र बन्दरगाह क्षमताको समस्याका कारण पर्याप्त मल आयात गर्न नसकेको बताए।

उनले कृषि मन्त्रालयले हरेक वर्ष पुस महिनामै आगामी वर्षको मल खरिद कार्यक्रम र टेण्डर प्रक्रिया शुरु गर्ने गरे पनि बजेट रकमका आधारमा विनियोजन हुँदा समस्या भएको बताए। ‘जस्तो २० अर्ब, २८ अर्ब भनेर तोकिन्छ’, उनले भने, ‘यदि हामीलाई नेपाल सरकारले साढे ५ लाख या ६ लाख टन मलको लागि व्यवस्था क्वान्टिटी तोक्यो भने त्यो अनुसारको बजेट व्यवस्था हुनुपर्‍यो। तर रकम तोकिने हुनाले त्यो रकमले आउने क्वान्टिटी जहिले पनि कम देखिन्छ। ’

उनले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि मन्त्रालयले करिव २० अर्ब रुपैयाँ बराबरको कार्यक्रम अन्तर्गत ९५ हजार मेट्रिक टन मल खरिदको प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। यस अन्तर्गत ३० हजार टन डीएपीको टेन्डर गरि खरिद सम्झौता भइसकेको छ भने ३० हजार टन युरियाको टेण्डर प्रक्रिया अगाडि बढाइएको छ। थप ३० हजार टन मलका लागि प्राविधिक प्रस्ताव खोलिएको र केही दिनमै मूल्य प्रस्तावव खोलिने पोखरेलले बताए।

विगत केही वर्षको तथ्यांक हेर्दा मल आपूर्ति क्रमशः सुधारोन्मुख अवस्थामा रहेको उनले बताए। किसानले मागे जति मल पाउने अवस्था पूर्ण रूपमा नबने पनि मल नपाएको अवस्था पनि नरहेको उनको दाबी छ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर