
कर्णाली – कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी समन्वय बैठक’मा नेपालसहित कर्णालीको मानसिक स्वास्थ्य अवस्थाको तथ्याङ्क सार्वजनिक गरिएको हो। बैठकमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले नेपालमा ४० प्रतिशतमा चिन्ता र २८ प्रतिशतमा निराशा रहेको तथ्याङ्क प्रस्तुत गरे।
कर्णालीमा पनि मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी ‘चिन्ता र उदासिनता’ देखिएको तथा त्यो नेपालकै तथ्याङ्कसरह रहेको उनले बताए। उनले कर्णालीमा यो समस्या व्यापक बन्दै गएको भन्दै आर्थिक वर्ष २०७९/८० मा तीन हजार ६८५, आव २०८०/८१ मा १४ हजार १८१, आव २०८१र८२ मा १५ हजार १२० र २०८२/८३ मा नौ हजार ३१९ जनामा मानसिक स्वास्थ्य समस्या देखिएको बताए। उनका अनुसार चालु आर्थिक वर्षको अन्तसम्म यो सङ्ख्यामा वृद्धि हुने देखिन्छ।

तथ्याङ्कअनुसार आव २०८१/८२ आत्महत्या प्रयास गर्नेको सङ्ख्या २०३, एक हजार ४६२ जनामा कन्भर्जन, सात हजार ४८९ जनामा उदासिनता र १५ हजार ४५० चिन्ता रोग देखिएको छ। कर्णालीमा ६८ प्रतिशत महिला र ३२ प्रतिशत पुरुषमा मानसिक स्वास्थ्य समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै, सिएमसी नेपालका प्राविधिक निर्देशक तथा मनोवैज्ञानिक डा पशुपति महतले मानसिक स्वास्थ्य समस्याका क्षेत्रमा देशका चार प्रदेश, ५४ जिल्लाका २१५ पालिकामा काम गर्दै आएको बताए। डोल्पा र हुम्लाबाहेक कर्णालीका आठ जिल्लाका ३३ पालिकामा आफ्नो कार्यक्षेत्र रहेको बताउँदै उनले बालबालिका तथा किशोरीसहित मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि संरक्षणात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश नेपालको सातै प्रदेशमध्ये मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग रणनीति निर्माण गर्ने पहिलो प्रदेश भएको बताए। कर्णालीका आठ जिल्लाका २७ पालिकास्तरमा पनि मानसिक स्वास्थ्य नीति तथा रणनीति बनेको जनाउँदै प्रदेश सरकारको रणनीति कार्यान्वयनमा सरकार प्रतिबद्ध भएको लागेको बताए।
मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले विशेष जनशक्ति खाली नहुनेगरी प्रदेश अस्पतालमा व्यवस्थापन गर्ने बताइन्। उपलब्ध जनशक्तिको परिचालन कसरी गर्ने भन्नेमा पनि मन्त्रालय गम्भीर रुपले अगाडि बढेको सचिव श्रेष्ठले बताइन्। उक्त बैठकमा स्वास्थ्य सेवा महाशाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाही, कर्णाली प्रदेश अस्पतालमा मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीलगायतले मानसिक स्वास्थ्य समस्या समाधानमा सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताएका थिए।


