
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठक ले विद्युत् खपतमा ५० युनिटमाथि लगाइएको कर तथा विद्युतीय सवारीसाधन (ईभी) मा थप गरिएको कर हटाइएको भए चालु आर्थिक वर्षको बजेट अझ उत्कृष्ट बन्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाठकले विद्युत्को आन्तरिक खपत बढाएर इन्धन आयातलाई निरुत्साहित गर्नुपर्ने बताएका हुन्। उनले विद्युत् उपभोक्तामाथि करको भार थप्नुको सट्टा प्रोत्साहनमुखी नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन्।
पाठकले विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिँदै अधिकांश नेपालीको चाहना पनि यही रहेको उल्लेख गरेका छन्। साथै उनले बजेट कार्यान्वयनका क्रममा सम्बन्धित निकायले यस विषयमा ध्यान दिनुपर्ने बताएका छन्।
उनका अनुसार स्वदेशमै उत्पादित विद्युत्को प्रयोग बढाउन सके आयातित इन्धनमा निर्भरता घट्नुका साथै देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ।


