विशेष अधिवेशनबाट सभापति बनेका गगन थापा सभापति बन्नुअघि पनि चुनौतीपूर्ण र तनावपूर्ण अवस्थाबाट गुज्रिनुपरेको थियो । सभापति बनेपछि पनि उनी उस्तै प्रकारका राजनीतिक दबाब र संघर्षको सामना गरिरहेका छन् ।
अहिले नेपाली कांग्रेस अत्यन्तै संवेदनशील र नाजुक राजनीतिक मोडमा पुगेको छ । गगन थापा सभापति बन्नुअघि संस्थापन पक्षबाट दबाबमा थिए भने अहिले इतर समूहभित्रकै असन्तुष्टि र दबाबको सामना गरिरहेका छन् । पार्टीभित्र एकता कायम राख्न उनले इतर समूहका १९ जनालाई केन्द्रीय समितिमा मनोनयन गरे । साथै, पार्टी एकताका लागि आवश्यक पर्ने अन्य कदम चाल्न पनि आफू तयार रहेको संकेत दिएका छन् ।
इतर समूहको नेतृत्व गरिरहेका पूर्णकहादुर खड्का ले केही शर्तसहित गगन थापासँग संवाद गरिरहेका छन् । उनले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापतिमै रहेको धारणा व्यक्त गरेका छन् । अर्कोतर्फ, शेखर कोइराला ले पनि पाँच बुँदे प्रस्ताव अघि सार्दै ती माग स्वीकार भए पार्टी एक हुने अवस्था बन्न सक्ने बताएका छन् ।
तर, अहिले देखिएको अवस्थाले इतर समूहको माग यहीँ सीमित रहने संकेत देखिँदैन । पूर्णबहादुर खड्का समूहले विशेष अधिवेशनपछि आफ्ना गतिविधि विस्तार गर्दै सम्पर्क कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको छ । डा. शेखर कोइरालाले त यसअघि नै विशालनगरमा सम्पर्क कार्यालय स्थापना गरेर इतर समूहका गतिविधि सञ्चालन गर्दै आएका छन् ।
नेपाली कांग्रेस कानुनी राज्यको पक्षधर पार्टी हो । यही मान्यताअनुसार निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष अधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई वैधानिक मान्यता दिएका छन् । यो निर्णय आउनुअघि पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा गतिविधि सञ्चालन गरिरहेका थिए । तर अदालतको निर्णयपछि उनले त्यो प्रयोग बन्द गरे, जसलाई कानुनी राज्यको सम्मानका रूपमा हेर्न सकिन्छ ।

यद्यपि, अझै पनि देउवा पक्षभित्र गगन थापालाई पूर्ण रूपमा स्वीकार नगर्ने धारणा कायम छ । आफ्नो विचार राख्ने अधिकार सबैलाई भए पनि एकातर्फ सभापतिलाई अस्वीकार गर्ने र अर्कोतर्फ एकताका नाममा संवाद जारी राख्ने प्रवृत्तिले पार्टीभित्रको द्विविधा झन् प्रस्ट बनाएको छ ।
डा. शेखर कोइरालाले भने हालसम्म सभापतिलाई अस्वीकार गरेका छैनन् । उनी निरन्तर पार्टी एक हुनुपर्छ भन्ने पक्षमा उभिएका छन् । उनले देउवा समूह र गगन थापाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै भेटघाट, छलफल र सभालाई तीव्र बनाएका छन् । पाँच सूत्रीय प्रस्ताव पनि यही उद्देश्यसहित आएको देखिन्छ ।
राजनीतिमा देखिनेभन्दा नदेखिने गतिविधि अझ प्रभावशाली र कहिलेकाहीँ खतरनाक पनि हुन्छन् । अहिले नेपाली कांग्रेसभित्र यस्तै अदृश्य राजनीतिक रणनीतिहरू सक्रिय हुन थालेका संकेत देखिन्छन् । इतर समूहले सार्वजनिक रूपमा “पार्टी फुट्न दिँदैनौँ” भनिरहे पनि संस्थापन पक्षको रणनीति भने वर्तमान सभापतिलाई चारैतिरबाट घेराबन्दी गरेर कमजोर बनाउने दिशातर्फ केन्द्रित देखिन्छ ।
क्रियाशील सदस्यताको नवीकरणदेखि कार्यसम्पादन समिति, अनुशासन समिति, निर्वाचन समिति र विधान समितिसम्मका विषयमा संस्थापन र इतर समूहबीच विवाद छ । इतर समूहले यी निकायहरूमा आपसी सहमतिका आधारमा प्रतिनिधित्व हुनुपर्ने माग उठाउनु पनि आगामी शक्ति सन्तुलनकै रणनीतिसँग जोडिएको देखिन्छ ।
अहिलेका गतिविधि हेर्दा इतर समूहको मुख्य ध्यान अब हुने पन्ध्रौँ महाधिवेशनतर्फ केन्द्रित भएको स्पष्ट हुन्छ । देउवा समूह र डा. शेखर कोइराला दुवैले गगन थापासँग संवाद र सहकार्यको वातावरण बनाइरहेका छन्, तर त्यसको मूल उद्देश्य आगामी महाधिवेशनलाई आफ्नो अनुकूल बनाउनु रहेको बुझाइ पार्टीभित्र बलियो छ ।
झट्ट हेर्दा डा. शेखर कोइरालाको पाँच सूत्रीय प्रस्तावले पनि अप्रत्यक्ष रूपमा देउवा समूहलाई नै लाभ पुग्ने विश्लेषण भइरहेका छन् । विशेषगरी पन्ध्रौँ महाधिवेशनमा इतर समूहबाटै सभापतिको उम्मेदवार उठ्ने सम्भावना बलियो बन्दै गएको छ । अहिलेको संवाद, माग र राजनीतिक सक्रियता त्यसैको तयारीका रूपमा हेरिएको छ ।
यदि आगामी महाधिवेशनमा इतर समूहले संस्थापन पक्षलाई पराजित गर्न सफल भयो भने पार्टीको नेतृत्व पुनः आफ्नो नियन्त्रणमा आउने उनीहरूको बुझाइ देखिन्छ । तर परिणाम उल्टो आए पार्टीभित्र थप विभाजन र संकटको अवस्था सिर्जना हुन सक्ने संकेत पनि उत्तिकै बलियो छ ।
लेखक आचार्य मोरङ कांग्रेसका सल्लाहकार हुन् ।


