Aamsanchar

दुई दिन बिदाले पर्यटकीय गतिविधि बढ्यो

Author Image
आइतवार, जेठ १७, २०८३

हिले – दुईदिने बिदाका कारण धनकुटाका पर्यटकीय स्थलमा पर्यटकीय गतिविधि बढेको छ । यसले गर्दा पर्यटन क्षेत्रमा उत्साह छाएको छ । बिदाले पर्यटक थपिएका छन् भने समय पनि लम्बिने गरेकाले उत्साह थपिएको हो ।

विगतका केही वर्षको तुलनामा यो वर्ष धनकुटामा पर्यटकीय गतिविधि धेरै नै बढेको छ । धनकुटाका भेडेटार, हिले, राजारानी, पाख्रीबास, सिधुवालगायतका स्थानमा पर्यटकीय गतिविधि बढेको हो । होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूका अनुसार भेडेटारमा अघिल्ला वर्षका तुलनामा पर्यटक गतिविधि धेरै नै बढेको छ ।

भेडेटार सुनसरीको धरानबाट १७ किलो मिटरको दुरीमा रहेको भेडेटार गर्मी सिजनमा चिसो मौसमका लागि प्रख्यात छ । अघिल्ला वर्षको भेडेटार घुम्न जाने र साँझमा अधिकांश फर्किने गरेकोमा यो वर्ष भने अवस्था उल्टो छ । अधिकांश त्यही बस्ने गरेको लिम्बू बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पहिले एक दिन बिदा हुँदा पर्यटकलाई त्यही दिन फर्कन हतार हुन्थ्यो तर अहिले दुई दिन बिदाले ढुक्कले बास बसेर फर्कने अवस्था बनेको छ ।” दुई दिन बसेर नजिकैका नमस्ते झरना, नाम्जे, पाथीभरा मन्दिर घुमेर जाने व्रmम बढेको उहाँ बताउनुहुन्छ ।

अघिल्लो वर्षसम्म सिजनमै सुनसान हुने धनकुटाको हिलेमा पनि यो वर्ष प्रत्येक बिदाको दिन अधिकांश होटेल बुक हुने गरेको छ । हिलेमा नअटेपछि पर्यटक होटेल खोज्दै धनकुटा, पाख्रीबाससम्म पुग्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा धेरै नै पर्यटकको चाप बढेको हिलेका होटेल व्यवसायी सुशील कटुवाल बताउनुहुन्छ । कटुवाल भन्नुहुन्छ, “यो समय सिजन नै भए पनि अघिल्ला वर्षमा यो वर्षको जस्तो उत्साह हुने गरेको थिएन तर यो वर्ष धेरै नै राम्रो छ ।” गर्मीमा चिसो खोज्ने तथा गुराँस अवलोकनका लागि उकालो चढ्ने पर्यटकलाई बिदाले सहज बनाए पनि पर्यटकले आफ्नो बसाइ लम्ब्याउने गरेका छन् कटुवाल थप्नुहुन्छ ।

धनकुटाको हिलेमा होमस्टे सञ्चालन गर्दै आउनुभएका जीवन राई भने दुईदिने बिदाका कारण थोरै टेवा पुगेको बताउनुहुन्छ । धनकुटामा पर्यटकीय गतिविधि बढ्नुमा तीनजुरे, चोलुङपार्क पाख्रिबासलगायत स्थानका भूमिका रहेको उहाँको बुझाइ छ । आन्तरिक रूपमा घुम्नु पर्छ भन्ने बुझाई तथा अरू घुमेको देखेका कारण घुमघाम गर्ने प्रवृत्ति बढेकोमा दुईदिने बिदाले पनि थोरै सहयोग गरेको उहाँको भनाइ छ ।

कोरानाकालमा पछि सुस्ताएको पर्यटकीय गतिविधिमा यो वर्ष भने उल्लेख्य सुधार भएको पर्यटन व्यवसायीको भनाइ छ । चैत महिनाको दोस्रो साता यता बढेको पर्यटकीय गतिविधि जेठको दोस्रो हप्ता बित्दासमेत उस्तै छ । धनकुटाको भेडेटार र हिलेमा मात्र नभई राजारानी, पाख्रिबास, सिधुवालगायतको स्थानमा समेत पर्यटकीय गतिविधि बढेको होटेल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट बताउनुहुन्छ । विष्टका अनुसार पर्यटक बढे पनि यसको तथ्याङ्क कुनै पनि निकायबाट उपलब्ध नहुने भएकाले तथ्याङ्कगत रूपमा भन्न नसके पनि पर्यटक र पर्यटकीय गतिविधि बढेको छ ।

Views: 30

प्रतिक्रिया (०)