Aamsanchar

पुर्जाले राखे नयाँ रेकर्ड

Author Image
सोमवार, जेठ १८, २०८३

ओखलढुंगा  – हिमालको थुम्कोमा जब सेतो हिउँको आँधी चल्छ र चिसो सिरेटोले हड्डीसम्मै खियाउन खोज्छ, धेरैका पाइलाहरू त्यहीँ थुप्रिन्छन्। तर, म्याग्दीको धौलागिरि फेद, दानामा जन्मिएर चितवनको समथर मैदानमा हुर्किएका एक नेपाली युवाका लागि भने त्यो आँधी केवल एउटा नयाँ रेकर्डको पृष्ठभूमि बनिदिन्छ। ती पात्र हुन्– निर्मल पुर्जा ‘निम्सदाइ’, जसले विश्व पर्वतारोहणको इतिहासलाई प्रत्येक वर्ष नयाँ परिभाषा दिइरहेका छन्।

हालै विश्व सगरमाथा दिवसको अवसर पारेर जेठ १६, २०८३ (मे ३०, २०२६) मा निर्मल पुर्जाले एउटा यस्तो कोसेढुंगा पार गरे, जसले विश्वका दिग्गज पर्वतारोहीहरूलाई समेत अचम्ममा पारेको छ। प्रतिकूल मौसमका कारण चौथो शिविरमा एक दिन अतिरिक्त प्रतीक्षा गर्नु परे पनि धैर्यको परीक्षा दिँदै उनले २८ जनाको टोलीको सफल नेतृत्व गरेर पुनः सगरमाथाको शिरमा पाइला टेके। यो उनको ८ हजार मिटरभन्दा माथिका संसारका सर्वोच्च हिमचुचुराहरूमा ५४औं सफल आरोहण थियो।

हाफ सेन्चुरीदेखि ५४औं आरोहणको यात्रा

 

विगतका तथ्य, पर्यटन विभाग तथा हिमालयन डेटाबेसका विवरणहरूलाई केलाउने हो भने पुर्जाको यो यात्रा कुनै चमत्कारभन्दा कम छैन। केही समयअघि मात्रै पाकिस्तानको खतरनाक मानिने ‘नांगा पर्वत’ को सफल आरोहण गर्दै उनले ८ हजार मिटरमाथिका हिमालमा आफ्नो ५०औं आरोहण (हाफ सेन्चुरी)पूरा गरेर विश्वकै पहिलो पर्वतारोही बन्ने दुर्लभ रेकर्ड बनाएका थिए। त्यसबेला नेपाल र बेलायतको २ सय वर्ष पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको सम्मानस्वरूप उनले चुचुरोमा गोर्खा र यूके स्पेसल फोर्सेसको झन्डा एकसाथ फहराएका थिए।
नांगा पर्वतको ५०औं आरोहणदेखि सगरमाथाको ५४औं आरोहणसम्म आइपुग्दा उनले थप चारपटक संसारका सर्वोच्च शिखरहरू चुमिसकेका छन्। सबभन्दा रोचक र विस्मयकारी तथ्य त के छ भने, यी ५४ वटा आरोहणमध्ये २५ वटा आरोहण उनले कृत्रिम अक्सिजनको बिना नै पूरा गरेका छन्, जुन मानव शरीरको सहनशीलता र दृढ इच्छाशक्तिको सर्वोच्च नमुना हो।

सैनिक ब्यारेकदेखि हिमालको टाकुरासम्म
सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पबाट ब्रिटिस आर्मीमा छनोट हुँदा निर्मल पुर्जाले सायदै सोचेका थिए होलान् कि उनको गन्तव्य ब्यारेकको चौघेरा मात्र होइन, बरु बादलमाथिको संसार हुनेछ।

१६ वर्ष ब्रिटिस सेनामा सेवा गरेका उनले ६ वर्ष क्विन्स गोर्खा इन्जिनियर्स र १० वर्ष बेलायतको अत्यधिक कठिन मानिने विशेष फौज ‘एसबीएस’ (स्पेसल बोट सर्भिस) मा बिताए। सैनिक जीवनकै क्रममा सन् २०१७ मा १३ जना ब्रिटिस गोर्खा सैनिकहरूलाई सगरमाथाको सफल आरोहण गराएर नेतृत्व गरिरहँदा उनले मृत्युको मुखमा पुगेका अर्का आरोहीलाई जीवनदान दिएका थिए, जसबापत उनलाई बेलायती महारानीबाट प्रतिष्ठित ‘एमबीई’ अवार्डसमेत प्रदान गरिएको थियो।

२०६९ साल (सन् २०१२) मा पहिलोपटक सगरमाथा आधार शिविरको पदयात्रा गर्दा हिमालसँग बसेको उनको पिरती ६ हजार १११ मिटरको लोबुचे हिमाल हुँदै अघि बढेको हो। १२ वर्षको छोटो अवधिमै उनले संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू (नेपाल, पाकिस्तान र चीनमा रहेका) मात्र चढेनन्, बरु तीनमा पटक–पटक पुगेर आरोहणको ‘गिनिज बुक’ नै आफ्नो नाममा लेखाइदिए। हिउँदको कठ्यांग्र्रिँदो जाडोमा विश्वकै दोस्रो अग्लो र सबैभन्दा खतरनाक मानिने पाकिस्तानको ‘के–टु’ हिमालमा पहिलोपटक मानव पाइला टेकाउने कीर्तिमान अझै पनि कसैले तोड्न सकेको छैन।
‘उद्देश्य त चुचुरोभन्दा पर हो’

इलाइट एक्सपिडका संस्थापकसमेत रहेका पुर्जाले हिमाल आरोहणलाई केवल पेसा वा रेकर्ड बनाउने माध्यम मात्र ठानेका छैनन्। उनी भन्छन्, ‘यो कोसेढुंगा पार गर्न पाउँदा म भाग्यमानी महसुस गर्छु, तर मलाई सधैं लाग्छ मेरो उद्देश्य चुचुरोभन्दा निकै पर छ।‌’ हिमालमा अलपत्र परेका र मृत्युसँग जुधिरहेका आरोहीहरूलाई आफ्नै खर्चमा निःशुल्क र आपतकालीन उद्धार गर्ने उनको बानीले उनलाई रेकर्डधारी मात्र होइन, ‘हिमालको एंगेल(दूत)का रूपमा स्थापित गराएको छ।

सगरमाथाको ५४औं आरोहण सकेर काठमाडौं फर्किएका पुर्जा आराम गर्ने सोचमा छैनन्। ‘मेरो काम नै हिमाल आरोहण हो, त्यसैले यो यात्रा रोकिने छैन,’ उनले उत्साहका साथ भने। अबको उनको तत्कालको योजना मकालु र कञ्चनजंघा हिमाल आरोहण गर्ने रहेको छ, जसका लागि उनी यसै साता प्रस्थान गर्दै छन्। त्यसलगत्तै आगामी जुन १० तिर उनी पुनः पाकिस्तानको ‘के–टु’ हिमालतर्फ प्रस्थान गर्ने तयारीमा रहेको सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिएका छन्।

विश्व पर्वतारोहणको इतिहासमा हिजोका दिनमा विदेशी आरोहीहरूको नाम अग्रपंक्तिमा आउने गथ्र्यो। तर, निम्सदाइ जस्ता आँटी र साहसी नेपाली हिमालका छोराहरूले आज यो भाष्यलाई बदलिदिएका छन्। ८ हजार मिटरमाथिको पातलो हावामा ५४ पटक विजयको झन्डा फहराएर उनले नेपालीहरू केवल हिमालका सहयोगी (भरिया) मात्र होइनन्, बरु हिमाल र विश्वका गाइड हुन् भनेर साबित गरेका छन्।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर