बिर्तामोड।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन समेतलाई दृष्टिगत गरी सोमबारबाट स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन शुरु भएको छ ।
आगामी साउन ३२ गतेसम्म सञ्चालन हुने मतदाता नामावली संकलन कार्यमा विगतमा छुटेका र १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन प्रमुख गोपाल आचार्यले जानकारी दिए ।
स्थानीय तहमा मतदाता नामावली संकलन कार्य सोमबारबाट शुरु भए पनि त्यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन सहज नभएको स्थानीयले गुनासो गरेका छन् । कनकाई नगरपालिका वडा नं. १ मा सोमबारदेखि शुरु भएको मतदाता नामावली संकलन कार्यमा चर्को घाममा दिनभरि लाइनमा बसेर पालो पर्खिए पनि आफ्नो पालो नआएको उनीहरुको गुनासो छ ।
कनकाई नगरपालिका–१ मा सोमबार मतदाता नामावली दर्ता गर्न आएका उनीहरुले मतदाता नामावली संकलन कार्य अव्यवस्थित भएको आरोप समेत लगाए । जिल्ला निर्वाचन कार्यालयले एकजना प्राविधिक खटाएको र दिनभरि लाइनमा बस्दा पनि पालो नआएको उनीहरुको गुनासो छ ।
कनकाई–१ मा ६ सयभन्दा बढीले फारम भरे पनि एकसय जनाको मात्रै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताइएको छ । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले जिल्ला निर्वाचन कार्यालयले कम जनशक्ति खटाएकोले मतदाता नामावली संकलन कार्यमा समस्या आएको बताए ।
जिल्ला निर्वाचन कार्यालय झापाले एकजना मात्र प्राविधिक खटाएकोले फारम भरेका सबैजनाको पालो एकैदिनमा नआउने भएकोले समस्या उत्पन्न भएको उनले बताए । उनले कनकाई नगरपालिकाले चारजना प्राविधिक र मतदाता नामावली संकलन गर्ने कम्प्युटर उपलब्ध गराउने जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराए पनि कार्यालयले बेवास्ता गरेको बताए ।
उनले दिनमा एकसय जनाको मात्रै नामावली संकलन गर्दा कनकाई नगरपालिकामा १७ दिनमा नामावली संकलन गर्न नसकिने र त्यसको लागि जिल्ला निर्वाचन कार्यालयले आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।
यता जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जिल्ला निर्वाचन कार्यालयले साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा मतदाताहरुले फोटोसहितको नामावली दर्ताका लागि समय रहेको बताए । उनले आफूहरुसँग जनशक्ति र उपकरण समेत कम रहेको र तत्काल जनशक्ति र उपकरण थप्न नसकिने बताउँदै मतदाताहरुलाई धैर्य गर्न आग्रह गरे ।