Aamsanchar

‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गरिने

Author Image
शुक्रवार, साउन २०, २०७४

काठमाडौँ ।

गृहमन्त्री जनार्दन शर्माले राजधानीमा देखिएका विकृति, विसंगतिलगायत सबैखाले फोहर हटाउन ‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गर्ने सोच अघि सारिएको बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो “जनताको सुरक्षासँग सम्बन्धित कुरालाई लिएर यहाँ धेरै प्रकारका फोहरमैला जम्मा भएको छ, सबैभन्दा बढी ठगी हुने र धेरै मान्छेले दुःख पाउने भनेकै यहीँ रहेछ, बढी संख्यामा आपराधिक घटना हुने, दलालले ठग्ने र बेचबिखन हुने पनि यहीँ देखियो, सबैभन्दा ठूलो समस्याको गठजोड त केन्द्रमै रहेछ, यस्ता विसंगति अन्त्य गर्ने अभियानको उद्देश्य हुने छ” गृहमन्त्री शर्माले भन्नुभयो ।

उहाँले काठमाडौँलाई व्यवस्थित गर्ने, व्यवसायलाई अझ भरपर्दाे बनाउने तथा वातावरणलाई कसरी संरक्षण गर्ने भन्ने विषयलाई केन्द्रित गरेर अघि बढाइने अभियानलाई सफल तुल्याउन सञ्चार क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सुरक्षाकर्मी, स्वयंसेवी नागरिक तथा केही प्राविधिक र प्रविधिको सहयोगमा एकीकृत ढंगले अभियान सञ्चालन गरिने तथा काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै गृहमन्त्री शर्माले अब कुनै पनि बहानामा राजमार्ग बन्द गर्न नसक्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै गृहप्रशासन सुधारसम्बन्धी ८४ बुँदे मार्गचित्र प्रस्तुत गर्नुभएका मन्त्री शर्माले आफ्नो मार्गचित्र केही लागू भइसकेको र केही कार्यान्वयनका लागि नीतिनिर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार संघीय प्रहरी ऐन मस्यौदाको चरणमा रहेको तथा स्थानीय प्रशासन, विपद् व्यवस्थापन, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य विधेयकलाई प्राथमिकताका आधारमा छलफल गरी टुंग्याउने काम भइरहेको छ । आन्तरिक सुरक्षा ऐन, माफी मिनाहा ऐन तथा संघीय ढाचामा जाँदा प्रहरी संगठनलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनसम्बन्धी कार्ययोजना निर्माणको काम पनि अघि बढाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर