बिर्तामोड।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले पशुपति शमशेर राणाको नेतृत्वमा पार्टी विभाजन गर्ने कार्यलाई दुर्भाग्यपूर्ण ठहर गरेको छ ।
राप्रपा झापाको सोमवार बसेको कार्य सम्पादन समितिको आकस्मिक वैठकले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा रहेको राप्रपा संस्थापन पक्षप्रति जिल्ला शाखा एक ढिक्का रहन प्रतिवद्ध रहेको निर्णय समेत गरेको मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईले जानकारी दिए । वैठकले सम्पूर्ण तहका पार्टीका नेता कार्यकर्ताहरुमा अविचलित रहँदै पार्टी संगठनमा सदाझैं निरन्तर क्रियाशील रहन समेत अपिल गरेको छ ।
राप्रपा झापा विगतमा झैं कमल थापा नेतृत्वको संस्थापन पक्षप्रति एक ढिक्का नै रहेको जनाउँदै वैठकले कुनै भ्रममा नपर्न सवैमा आग्रह गरेको सचिव केशव ओझाले जानकारी दिए । त्यस्तै पार्टीका महामन्त्री एवम् संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले बर्तमान परिस्थितिले आफ्नो सिद्धान्त र आदर्शमा खरो उत्रने मौका प्राप्त भएको बताएका छन् । कार्यकर्ता एवम् शुभचिन्तकलाई विचिलत नहुन आग्रह गर्दै उनले भने– यो हामी सवैको अग्नि परीक्षा हो, हामी खरो रुपमा उत्रने छौं ।
राप्रपा झापाका अध्यक्ष अम्वर विष्टले राष्ट्रवादी धारसँग त्रसित देशीविदेशी शक्तिको इशारामा पार्टी विभाजनको पीडा भोग्नु परेको संकटको यो घडीमा विचलित नहुन आग्रह गरेका छन् । उनले राप्रपा झापा कमल थापा नेतृत्वको संस्थापन पक्षमा चट्टान झैं उभिने बताए । राप्रपा झापाले साउन २५ गते वुधवार पार्टी जिल्ला कमिटीको पूर्ण वैठक आह्वान गरेको छ ।
यसैवीच राप्रपावाट झापामा निर्वाचित जनप्रतिनिधिले पनि पार्टी संस्थापन पक्षप्रति एकवद्ध रहेको जनाएका छन् । कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, हल्दिवारी गाँउपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन र गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष वावुराजा श्रेष्ठले पार्टी अध्यक्ष कमल थापा नेतृत्वको संस्थापन पक्षसँग प्रतिवद्ध रहेको बताए ।
संबिधान संशोधन, सरकारमा पार्टीको सहभागिता तथा केन्द्रीय सदस्य छनौटको बिषयमा असन्तुष्टि जनाउँदै आएका बरिष्ठ नेता पशुपति शमशेर राणा पक्षले आइतवार औपचारिक रुपमा पार्टीबाट अलग भएको घोषणा गर्दै निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।



