बिर्तामोड।
जिल्ला समन्वय समिति झापाको प्रमुख कसलाई बनाउने भन्ने विषयमा नेकपा एमाले भित्र गुटगत चलखेल शुरु भएको छ । केही दिन अघि एमाले झापाको सचिवालयले बहुमतको आधारमा सोमनाथ पोर्तेललाई प्रमुख बनाउन सिफारिस गरेपछि असन्तुष्ट पक्षले तीव्र विरोध जनाएका छन् । असन्तुष्ट नेताहरुले वैठकको माइन्युटमा नै असहमतिको मत लेखेर विरोध जनाएका हुन् । अहिले यो विवाद आम कार्यकर्ता माझ छताछुल्ल भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समर्थक कार्यकर्ताहरुबीच जिल्ला समन्वय समिति झापाको प्रमुखको विषयलाई लिएर गुटगत चलखेल शुरु भएको हो । साउन ३१ गते हुने निर्वाचनका लागि एमाले कार्यकर्ता बीचमा विवाद भएपछि पार्टीभित्रको खैलावैला बाहिरिएको छ ।
जिल्ला समन्वय समितिको उप्रप्रमुख छान्नका लागि बसेको छलफलमा ५ जनाले असन्तुष्टि प्रकट गर्दै नोटअफ डिसेन्ट (असहमतिपत्र) लेखेपछि पार्टीभित्रको खैलावैला वाहिरिएको हो ।जिल्ला समन्वय समितिका लागि एमालेको बहुमत छ । सोही बहुमतका आधारमा कुन्दन भट्टराई र सोमनाथ पोर्तेलबीच को प्रमुख बन्ने विषयले पार्टीभित्र गुटगत चलखेल शुरु भएको हो ।
पार्टीको वैठकले दलित मुक्ति समाजका केन्द्रीय अनुशासन कमिटी सदस्य सोमनाथ पोर्तेल र उपप्रमुखमा अनेमसंघकी जिल्ला कमिटी सदस्य मीना पराजुलीलाई सिफारिस गरेसँगै हरिचरण बानियाँ, गोपाल वुढाथोकी, एकराज कार्की, देवराज कार्की र शारदा शर्माले असहमति पत्र लेखेका हुन् । उनीहरुले लेखेको नोट अफ डिसेन्टमा जिल्ला कमिटीको सुझाव, प्रदेश कमीटीको सिफारिस र केन्द्रीय कमिटीको निर्णय हुने गरी निर्देशनका आधारमा छलफलका क्रममा आएका सबै नाम सिफिरिस गर्न माग गरेको बताइएको छ ।
उनीहरुले प्रमुख पदका लागि कुन्दन भट्टराई, चन्द्र गुरुङ, सोमनाथ पोर्तेल, अम्मर शिवाकोटी तथा उपप्रमुख पदका लागि जानुका गौतम, अम्बिका भण्डारी र मीना पराजुलीको नाम पठाउन माग गरेका छन् ।स्थानीय निर्वाचन हुनु अघि नै १ नम्बर प्रदेश कमिटीमा कुन्दन भट्टराईलाई जिसस झापाको प्रमुख बनाउने सहमति भएकोमा अहिले उल्टाउन पार्टी अध्यक्ष ओली पक्षका नेताले चलखेल शुरु गरेको आरोप लगाइएको छ ।
ओली समूहका झापाका अध्यक्ष चिन्तन पाठक लगायतका नेताहरुले दलित नेता पोर्तेलको नाम प्रस्ताव गरेका छन् । तर, समन्वय समितिका प्रमुख र उपप्रमुखको अन्तिम टुङ्गो एमाले स्थायी समितिले लगाउने छ ।जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सोमबार बसेको बैठकमा एकाएक पोर्तेलको नाम आएपछि चर्को बहस भएको हो ।
भट्टराईलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउन अर्जुनधारा नगरपालिका वडा नम्बर ५को सदस्यमा एमालेले उम्मेदवार बनाएको थियो । उनी निर्वाचित पनि भए । अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरि राना र भट्टराईको दावी रहेका बेला उनलाई समन्वय समितिको प्रमुख बनाउने सहमति भएको थियो । भट्टराई अर्जुनधारा र राना शनिश्चरे गाबिसका पूर्व अध्यक्ष हुन् । यी दुबै गाबिस समेटिएर अर्जुनधारा नगरपालिका बनेको छ ।
पार्टीका पुराना र क्षमता भएका नेतालाई छाडेर गुटकै आधारमा पोर्तेलको नाम सिफारिस भएकोमा कार्यकर्ताबीच चर्को असन्तुष्टि बढेको छ । सोमबार बसेको बैठकमै पनि गुटगत रुपमा पोर्तेलको नाम आएको भन्दै आलोचना भएको थियो । बहुमत जिल्ला सदस्यले पार्तेलको नाम लिए पनि तत्काल माइन्युट भने गरिएन । भट्टराई समर्थक अर्थात् नेपाल समूहका सदस्यहरु कार्यालयबाट बाहिरिएपछि माइन्युट लेखिएको हुन सक्ने एक नेताले बताए । नेपाल समूहकाले भट्टराई र पोर्तेल दुवैको नाम सिफरिस गर्न आग्रह गरे पनि ओली समूहकाले एकजनाको मात्र सिफारिस गर्नुपर्ने धारणा राखेका थिए ।
को हुन् भट्टराई ?
२०१४ सालमा झापाको मेचीनगरमा जन्मिएका कुन्दन भट्टराईले धुलावारी माविबाट एसएसली उत्तीर्ण गरेका हुन् । उनले सन् १९८४मा सिलोङबाट वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् । झापाको कोहेड कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी अंग्रेजी, आसामी, वंगाली र हिन्दी भाषाको पनि ज्ञान राख्दछन् ।
झापा बिद्रोहबाट बाल्यकालमा प्रभावित भएका भट्टराई नेपालमा बस्न नसक्ने भएपछि भारतको सिलोङ अध्ययनका लागि गएका हुन् । सन् १९८१ साल पार्टी सम्पर्कमा पुगेका उनलाई सीपी मैनालीले नेकपा मालेको पार्टी सदस्यता दिएका थिए । उनी सन् १९८४मा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अखिल भारत नेपाल स्वतन्त्र विद्यार्थी युनियनको महासचिव भएका थिए ।
त्यसबेला अध्यक्ष एमाले नेता शंकर पोखरेल थिए । झलनाथ खनाल, मदन भण्डारी, जिवराज आश्रित, प्रदीप नेपाल, बाशु शाक्य लगायतका नेतासँग पार्टी कामको शिलशिलामा प्रवासमै उनको भेट भएको हो । २०४४ सालमा नेपाल आएका भट्टराई २०४६ चैतमा पार्टीको निर्देशनमा प्रवास गएका थिए । जनआन्दोलनको समयमा सीमाका प्रहरी कार्यालयमा आक्रमण गर्ने तयारीका लागि उनी प्रवास गएको बताइएको छ ।
२०४६ सालको जनआन्दोलन पछि भट्टराई स्वाधीन सम्बाद साप्ताहिकको कार्यकारी सम्पादक भए । २०४९ बाट पार्टीको कार्यालय सचिव भएका भट्टराई एमालेको सरकार गठनपछि गुठी संस्थानको कार्यकारी प्रमुख भए । २०५४ सालमा उनी अर्जुनधारा गाबिसको अध्यक्ष भएका हुन् । उनी अहिलेसम्म एमाले झापाको सचिवालय सदस्य छन् । एमाले झापाका प्रभावशाली नेता हुन् भट्टराई ।
सोम पोर्तेल को हुन् ?
झापाको जलथलमा २०३५ सालमा जन्मिएका सोम पोर्तेल एमाले झापाका युवा नेता मानिन्छन् । उनी झापाको दलित आन्दोलनका प्रभावशाली नेता हुन् । पार्टी जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य हुँदै अहिले प्रदेश कमिटी सदस्य छन् ।
झापाको बिर्तामाड नगरपालिका वडा नम्बर ५ मा बसोवास गर्ने पोर्तेल नगरपालिकाको मानोनित वडा सदस्य हुन् । २०४८ सालमा अनेरास्ववियुमा संगठित भएका पोर्तेलले आइकमसम्मको अध्ययन गरेका छन् ।