काठमाडौँ।
नेकपा (माओवादी केन्द्र)का सांसदले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब प्रदान गर्ने भएका छन् ।
माओवादी केन्द्रको संसदीय बोर्डको सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडित जनतालाई तत्काल सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले प्रभावित क्षेत्रका सांसदलाई तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा गई उद्धार, राहत र स्वस्थ्य उपचारमा जुट्न बैठकले निर्देशन दिएको बताउनुभयो ।
बैठकले पीडितको तत्काल प्रभावकारी रुपमा उद्धार, राहत, स्वास्थ्योपचार तथा पुनःस्थापना गर्न सरकारसँग माग गरेको छ । बैठकमा संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी तथा पहिरोपीडितको राहत तथा उद्धारका लागि कुनै कमजोरी नगर्न र प्रतिबद्ध भएर जनताको पिरमर्कामा मल्हम लगाउन सांसदलाई निर्देशन दिनुभयो ।
उहाँले पार्टीका तर्फबाट सम्पूर्ण पंक्ति राहत तथा उद्धारमा परिचालित हुन यसअघि नै निर्देशन दिइएको जानकारी दिँदै प्रभावित क्षेत्रमा गएर राहत तथा पुनःस्थापनाको नेतृत्व गर्न समेत सांसदलाई निर्देशन दिनुभएको प्रमुख सचेतक शर्माले बताउनुभयो ।
पीडितको राहत तथा उद्धारका लागि सरकराले सम्पूर्ण शक्ति परिचालित गर्नुपर्नेमा जोड दिँदै उहाँले माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई यसअघि नै प्रभावित क्षेत्रमा जान र जनताको सेवा गर्न आग्रह गरिसकिएको जानकारी दिनुभएको थियो । बैठकले नेपालको संविधान दोस्रो संशोधन पारित गराउन सक्रियतापूर्वक पहल गर्ने निर्णयसमेत गरेको छ ।