राजविराज।
बाढीले बगाएर सप्तरीमा मृत्यु भएका कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गर्नु भएको हो ।
बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएकाले उनको परिवारले कोशी नदीमा शव बगाएका थिए । पैसा नभएर मर्कामा परेका रामको परिवारलाई आफ्नो व्यक्तिगततर्फबाट रु २० हजार सहयोग गरेको पुनले बताउनुभयो । साथै पीडित परिवारलाई उहाँले दाल, चामल, नून, तेललगायतका खाद्यान्न सहयोग गर्नुभयो ।
त्यसैगरी मृतक बालकका परिवारलाई नेपाल तरुण दलले पनि किरिया खर्चबापत रु २५ हजार प्रदान गरेको छ ।
तरुण दल केन्द्रीय सभापति जितजङ बस्नेतले पठाएको सो रकम एक कार्यक्रमबीच तरुण दलका जिल्ला सभापति अर्जुनकुमार यादवले मृतकका बुबा फुदन सदा र आमा विमली सदालाई प्रदान गरेको बताइएको छ ।