काठमाडौँ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम भट्टराई एकताको प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “माओवादीबाट बाहिर गएका डा भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत पनि एकता प्रक्रियामा आउँछन् । एकता नगरी सुखै छैन । यो नेपाली जनताको माग हो ।”
सनक र लहडको भरमा अगाडि बढेर नेपाली जनताको अपेक्षा पूरा हुन नसक्ने स्पष्ट पार्दै उहाँले ज्ञान भएकै भरमा पार्टी चलाउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “डा भट्टराईसँग ज्ञान छ तर पार्टी चलाउने बुद्धि भएन । ढिलो चाँडो उहाँ माओवादीमा समाहित हुनै पर्छ । उहाँ आउनुहुन्छ ।”
उहाँले मुलुकको आवश्यकता र चाहनालाई ख्याल गरेर आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अगाडि सारेको भन्दै त्यसले नै सबैको हित गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक रामचन्द्र झा, सोही पार्टीका नेता रामकुमार शर्मालगायतका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नुभएको थियो । माओवादीको केन्द्रीय नेतृत्वमा रहेका झा र शर्मा डा भट्टराईसँगै नयाँ शक्तिमा जानु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता झाले विचार र राजनीतिको अभावमा डा भट्टराईले कुनै नयाँ चमत्कार गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले कुनै पनि बहाना गरेर अब छुट्टाछुट्टै नबस्न समेत डा भट्टराईलाई आग्रह गर्नुभयो ।
अर्का नेता शर्माले आफूले ठूलो अपेक्षाका साथ डा भट्टराईलाई साथ दिएको भए पनि कुनै उल्लेखनीय काम गर्न नसकेको र यथास्थितिवादको रक्षा मात्रै गरेकाले आफूहरु आफ्नै घरमा फर्केको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत नेताहरुको उपस्थिति थियो