
सम्मानित क्रमस् उद्धव पुरी, गोविन्दविक्रम गिरी, एकराज गिरी । फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

बिर्तामोड, भदौ ६। बिर्तामोड–५ स्थित ॐनमः शिवाय बचत तथा ऋण सहकारी संस्था लि.को ५औं बार्षिक साधारणसभा मंगलवार चारपानेमा सम्पन्न भएको छ । नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले प्रमुख अतिथिकोतर्फबाट उद्घाटन गरेको सभा संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा संस्थाका संरक्षक गोविन्दविक्रम गिरी, पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी, समाचार सप्ताहिक एवम् नागरिक एफएमका सम्पादक गोपाल गिरी र ब्लाष्टका समाचारदाता उद्धव पुरीलाई सम्मान गरिएको थियो । संस्थाको उन्नतिमा संरक्षक र सञ्चारकर्मीले विशिष्ठ योगदान पु¥याएको भन्दै सम्मानपत्रसहित उनीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका संरक्षक एवम् दशनामी समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द्रविक्रम गिरीद्वारा लिखित ‘सहकारी शिक्षा संक्षिप्त अध्ययन’ नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमारले दशनामी बन्धुको अगुवाईमा स्थापित ॐनमः शिवाय सहकारीले छोटो समयमा उल्लेख्य प्रगति हासिल गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला सहकारी संघका अध्यक्ष एवम् सहारा नेपालका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, दशनामी समाज झापाका अध्यक्ष चन्द्रप्रसाद गिरी, केन्द्रीय सदस्य डम्बर वन लगायतले मन्तव्य राखेका थिए । साधारणसभाको बन्द सत्रले अध्यक्ष गिरी र लेखा समितिको छुट्टाछुट्टै प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको छ ।

संस्थाको हाल शेयरपुँजी एक करोड २५ लाख ९२ हजार ५ सय रुपैयाँ रहेको सो अवसरमा जानकारी दिइयो । त्यस्तै एक करोड ६४ लाख ८९ हजार १ सय ५५ रुपैयाँ कर्जा लगानी रहेको समेत लेखा संयोजक इन्द्रमणि पौडेलले बताए । संस्थाले वितेको आर्थिक बर्षमा २६ लाख ९१ हजार १ सय ७० रुपैयाँ आम्दानी गरेको र विभिन्न शीर्षकमा २३ लाख ६२ हजार आठ सय ७१ रुपैयाँ खर्च भएको संस्थाका व्यवस्थापक युवराज गिरीले बताए । संस्थामा हाल १२५५ जना शेयर सदस्य छन् ।
कार्यक्रममा अतिथिहरुले संस्थाको शेयर पुँजी राम्रो रहेकोमा प्रशंसा गर्दै सहकारी ऐन अनुसार पुँजी बढाउनका लागि ‘मर्ज’ को प्रक्रियामा जान समेत सुझाव दिएका थिए । त्यस्तै बचत, संरक्षण पुँजी कोष बढाउनुपर्ने, खर्च घटाउनुपर्ने, शेयर सदस्यलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम ल्याउन समेत सहकारी क्षेत्रका अगुवाहरुले सुझाव दिएका छन् । एलबहादुर गिरीले स्वागत र राजनकुमार गिरीले सञ्चालन गरेको कार्यक्रममा जग्गादाता मानबहादुर गिरी, कृष्ण गिरी, उद्योगपति हरि गिरी, कुमार गिरी, दशनामी समाजका केन्द्रीय सदस्य महेन्द्र गिरी लगायतको आतिथ्य थियो ।

अध्यक्षमा पुनः भरतलाल
ॐनमः शिवाय बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष पदमा पुनः भरतलाल गिरी निर्विरोध निर्वाचित भएका छन् ।
पाँच बर्षे कार्यकालका लागि मंगलवार भएको निर्वाचन प्रक्रियाबाट उनी अध्यक्षमा निर्विरोध भएका हुन् । निर्वाचन समितिका अधिकृत तथा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले निर्विरोध निर्वाचित टिमको घोषणा गर्दै शपथ ग्रहण गराएका थिए । संस्थाको उपाध्यक्षमा खिलबहादुर गिरी राजु निर्वाचित भएका छन् । ११ सदस्यीय कार्य समितिको सदस्यहरुमा एलबहादुर गिरी, बालकृष्ण गिरी, जीवनाथ गिरी, केदारबाबु गिरी, खड्ग गिरी, शंकर गिरी, डम्बर वन, नरबहादुर वन र शिवलाल गिरी निर्विरोध चयन भएका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा इन्द्रमणि पौडेल र सदस्यहरुमा राजनकुमार गिरी, घनश्याम गिरी निर्विरोध भएका छन् । निर्वाचन समितिमा अधिकृत एकराज गिरी तथा सदस्यहरु उद्धव पुरी र जंगकुमार गिरी रहेका थिए ।

