Aamsanchar

सन्थाल टोलमा न्यूट्न्स र एभरेष्ट स्कूलको राहत

Author Image
बुधवार, भदौ ७, २०७४

बिर्तामोड।

केही दिनअघि आएको बाढीबाट विस्थापित झापाका विभिन्न स्थानका बासिन्दाहरु कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
बाढीले बस्ने ठाउँ र खाने सामग्री नै बगाएर लगेपछि कष्टपूर्ण जीवन बिताउँदै आएका झापाको गौरीगञ्ज गाउँपालिका–४ बालुगाडा सन्थाल टोलका २१ घरपरिवारलाई न्यूट्न्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीले संयुक्त रुपमा राहत सामग्री वितरण गरेको छ । ती दुई विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन लगायतको टोलीले उनीहरु बसेको स्थानमै गएर राहत वितरण गरेको न्यूट्न्स एजुकेशन एकाडेमीका को–अर्डिनेटर देवेन्द्र हुमागाईले बताए ।
सन्थाल परिवारलाई २० बोरा चामल, २ कार्टुन तेल, ४ सय जोर लत्ताकपडा, कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । किताबी ज्ञान मात्रै लिँदै आएका शहरका बिद्यार्थीहरुलाई ग्रामीण भेगका बासिन्दाले भोग्नुपरेको कष्टपूर्ण जीवनबारे प्रत्यक्ष अनुभूत गराउन विद्यार्थीहरुको समेत सहभागितामा राहत वितरण गरिएको को–अर्डिनेटर हुमागाँईंले बताए ।
खाद्यान्न, लत्ता–कपडा र शैक्षिक सामग्री लिएर पुगेका विद्यार्थीहरुले बाढीले घर, खाद्यान्न र शैक्षिक सामग्री समेत बगाएर विद्यालय जान नपाइरहेका विद्यार्थीहरु समेतलाई राहत वितरण गरेका थिए ।
कार्यक्रममा करिब ५० हजारको सामग्री वितरण गरिएको बताइएको छ । त्यस्तै गौरीगञ्ज गाउँपालिका–४ कै फिकीडी मालीबस्तीका ५० परिवारलाई २० हजार मूल्य बराबरको खाद्यान्न, लत्ता–कपडा, वितरण गरिएको को–अर्डिनेटर हुमागाँईले बताए ।
नेपाली कांग्रेसका पूर्व उपसभापति देउमान थेवेको पहलमा नेपाली कांग्रेसकी नेतृ फूलवती राजवंशी, पर्शुराम राजवंशी, नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति राजेन्द्र उप्रेती लगायतको सक्रिय सहभागितामा राहत वितरण गरिएको थियो ।
विद्यार्थी, शिक्षक र विद्यालयको संयुक्त सहयोगमा गरिएको राहत वितरण कार्यक्रममा न्यूट्न्सका को–अर्डिनेटर हुमागाँई, +२ इञ्चार्ज केवल सापकोटा, शिक्षक सुनील आले, मिनु शिवाकोटी, रचना शर्मा, न्यूटन्सका सोसल ग्रुपका विद्यार्थी, एभरेष्ट स्मार्टका को–अर्डिनेटर आशिष प्रसाईं, एकाडेमी इञ्चार्ज गीता राई र कक्षा ८का विद्यार्थीहरुले राहत वितरण गरेका थिए ।
त्यस्तै सोही विद्यालयले झापा गाउँपालिकाको सिमलबाडीका ७० परिवारलाई ५० हजार मूल्य बराबरको खाद्यान्न, लत्ता–कपडा र शैक्षिक सामग्री वितरण गरेको विद्यालयका को–अर्डिनेटर हुमागाँईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर