झापा।

बाह्रदशी गाउँपालिका वडा नं. १, २ र ३ का बाढी पीडितहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । उनीहरुलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा झापाको अर्जुनधारा–६ मा स्थापित नारी कल्याण समाजको व्यवस्थापनमा राहत वितरण गरिएको हो ।
गुड नेवर्स इन्टरनेशनल लाइवलीहुड अफिसर दुर्गा जेठाराको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रमका बीच करिब साढे ४ लाख रुपैयाँ बराबरको राहत सामग्री २१५ घरपरिवारलाई प्रदान गरिएको हो ।
राहत सामग्री अन्तर्गत प्रतिपरिवार १५ किलो चामल, २ किलो दाल, २ किलो चिउरा, १ किलो चिनी, १ किलो दालमोट, १ किलो नून र १ लिटर सूर्यमुखी तेल वितरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला उपसभापति ओमप्रकाश गौतमको प्रमुख आतिथ्य, सांसद हरिबहादुर राजवंशीको विशिष्ठ आतिथ्यमा उक्त राहत सामग्री वितरण गरिएको नारी कल्याण समाजकी केन्द्रीय सचिव प्रेमा भट्टराईले जानकारी दिइन् ।
राहत प्रदान गरिएको सो अवसरमा बाह्रदशी वडा नं. १, २ र ३का वडाध्यक्ष क्रमशः शम्भु राजवंशी, यादव मिश्र र वीरेन्द्र राजवंशीको सहभागिता थियो । सो अवसरमा नारी कल्याण समाजकी केन्द्रीय अध्यक्ष कमला उप्रेती, प्रोजेक्ट अफिसर बाबुराम पौडेल, समाजसेवी टुञ्ज बराइली, सरोज खनाल, पदम थापासहितको सक्रिय सहभागिता थियो ।

