Aamsanchar

नयाँ शक्ति र विप्लब समूहबाट माओवादी केन्द्रमा

Author Image
शनिवार, भदौ २४, २०७४

भक्तपुर ।

नेकपा (माओवादी (केन्द्र) का नेता रामबहादुर थापाले आगामी असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र), भक्तपुरले यहाँ आज आयोजना गरेको ‘बृहत राजनीतिक वैचारिक धु्रवीकरण अभियान’ कार्यक्रममा उहाँले अझैपनि प्रतिगामी, जमिन्दारी र पूँजीपति वर्गकै हातमा राज्य सत्ता रहेको भन्दै उहाँले जनताको हातमा राज्यसत्ता अझै नआएको जिकिर गर्नुभयो ।

माओवादी क्रान्ति अझै पनि अधूरो रहेको जिकिर गर्दै उहाँले क्रान्तिलाई प्ूरा गर्न देशव्यापी पार्टी एकीकरण अभियान सुरु गरिएको बताउनुभयो । राजनीतिक स्थिरता र स्थिर सरकार नभएसम्म देशको विकास नहुने चर्चा गर्दै उहाँले राष्ट्रिय एकताबिना राष्ट्रिय स्वाधीनता स्थापना हुनै नसक्ने ठोकुवा गर्नुभयो ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा प्रधानमन्त्री रहने व्यवस्था हुनुपर्ने मागलाई पार्टीले सडक, सदन र सरकारबाट उठाउने उल्लेख गर्दै उहाँले निर्वाचन प्रणालीमासमेत आमूल परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पञ्चायती व्यवस्था कै निर्वाचन प्रणालीका कारण निर्वाचनमा अस्थिरता आएको छ, भोट किनबेच भएको छ, पैसा भएका धनाढ्य र पूँजीपति मात्रै सरकारमा पुगेका छन्, पैसाबिना चुनावमा जानै नसक्ने अवस्थालाई हटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्छ ।”

माओवादी केन्द्रका भक्तपुर इन्चार्ज देवेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ शक्ति पार्टीका भक्तपुर जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य ओम वाग्लेको नेतृत्वमा सिंगो जिल्ला कमिटी विलय हुनुका साथै केन्द्रीय तथा जिल्लाका ६५ जना र नेकपा माओवादी (विप्लब) समूहका मजदुर नेता युवराज आचार्यको नेतृत्वमा ७२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर