Aamsanchar

दसैँ : यसरी लगाउनुस् टीका, यस्तो छ साइत

Author Image
शुक्रवार, असोज १३, २०७४

काठमाडौं,

नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिबार बिहान ७ बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्रा गराउने साइत रहेको जनाएको छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा साथै ११ बजेर ५५ मिनेटपछि टीका लगाउन उत्तम साइत रहेको जनाएको छ ।

गएको असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ भएको हो । त्यसदिन बिहान घटस्थापना गरिएको थियो । त्यसैगरी ९ गते सोमबार पचली भैरव यात्रा गरियो । ११ गते बुधबार दसैँ घर वा कोठामा फूलपाती भित्र्याइयो । फूलपातीका दिन नै तुलजा भवानी यात्रा गरिएको थियो । फूलपातीकै दिन बिहान तुलजा भवानीलाई स्थिरासन गराइएको छ । यस्तै बिहीबार महाअष्टमीमा राति कालरात्रि पूजा गरियो । आज शुक्रबार महानवमीको पूजा गरिएको छ ।

यसरी लगाउनुस् टीका

शनिबार विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । विजया दशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रासमेत हुनेछ । शनिबार मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अहिले शुक्र पूर्वतिर भएकाले टीका लगाइदिने मान्छे पूर्वतिर फर्किने र लगाउने मान्छे पश्चिम फर्कन उपयुक्त हुने ज्योतिषहरुले बताएका छन् । दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । यस्तै चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउन उपयुक्त मानिन्छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य बैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

बुधबार बलि पूर्ति

असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैँ पर्व समापन हुन्छ । नेपालभर दसैँ महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दसैँ मनाउने गर्छन् । -उज्यालोबाट

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर