बिर्तामोड।

चुनावी गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबैले झापाको २ नम्बर निर्वाचन क्षेत्र नछोड्ने अडान लिएका छन् ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले र माओवादीबीच ६०–४० का आधारमा सिट भागबण्डा गर्ने केन्द्रीयस्तरमा चुनावी तालमेलको सहमति भएको हो ।

त्यसकै आधारमा प्रतिनिधिसभा निर्वाचनका लागि झापामा दुईवटा सिट पाउनुपर्ने दावी गरेको माओवादीले २ र ४ नम्बर निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार उठाउने तयारी गरेको छ ।
२ नम्बर क्षेत्रमा पूर्वमन्त्री एवम् केन्द्रीय नेता राम कार्की र ४ नम्बर क्षेत्रमा पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज झलकसिंह दर्लामीलाई उठाउने तयारी गरिएको हो । त्यस्तै प्रदेशसभा निर्वाचनका लागि माओवादीले जिल्लाका दश वटामध्ये चारवटा सिट दावी गरेको छ ।
केन्द्रमा भएको सहमति जिल्लामा पनि लागू हुनुप¥यो– केन्द्रीय आयोजक समिति सदस्य सीपी कडरियाले भने– ‘नीतिगत र ब्यबहारिक रुपमा भागबण्डा हुनुपर्छ ।’ उनले ४ नम्बर क्षेत्रमा हेर्न सकिने भए पनि कार्कीलाई २ नम्बरबाट ब्याक गर्न नमिल्ने बताए ।
उता एमालेले २ र ५ नम्बर क्षेत्र माओवादीलाई छोड्न नसकिने बताएको छ । ती दुईवटै क्षेत्रलाई एमालेले आधार क्षेत्रको रुपमा लिएको छ । २ नम्बरबाट पबित्रा निरौला खरेल र ५ नम्बर क्षेत्रबाट पार्टी अध्यक्ष केपी ओलीलाई उठाउने गरी एमाले झापाले केन्द्रमा सिफारिस पठाएको छ । ५ नम्बरबाट अध्यक्ष उठ्ने भएपछि र २ नम्बर सुखानी सहादत क्षेत्र भएकाले ती दुवै क्षेत्र माओवादीलाई छोड्न नसकिने जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।
कांगे्रस गठबन्धनको उम्मेदवार हेरेर २ नम्बर क्षेत्रमा पवित्राको साटो पार्टीले अर्को ब्यक्ति खडा गर्न सक्ने तर माओवादीलाई नछोड्ने अध्यक्ष पाठकको भनाइ छ । एमाले–माओवादी बाम गठबन्धनमा नेकपा माले र नेपाल परिवार दल पनि आउने भएपछि उनीहरुलाई पनि भागबण्डामा मिलाउनुपर्ने भएको छ ।

