

पाकिस्तान – एक कोठाको मदरसामा करिब दुई दर्जन बालबालिकाहरू कुरान पढिरहेका छन् । यसै मदरसासँगै जोडिएको विद्यालयका दुई भवनमध्ये एउटा भग्नावशेषमा परिणत भएको छ भने अर्को सुनसान छ ।
यो सुनसान अवस्थाको कारण दुई स्थानीय समुदायबीच वर्षौदेखि चलिरहेको विवाद हो । जसका कारण यहाँको विद्यालयहरू समेत खाली भएका छन् । पाकिस्तानको उत्तरी सिन्ध प्रान्तको शिकारपुर जिल्लामा पछिल्ला नौ वर्षदेखि ‘जुनेजो’ र ‘कल्होड़ा’ समुदायबीचको द्वन्द्वमा कुल ४८ जनाको ज्यान गएको छ ।
यस अवधिमा दुवै समुदायले आ–आफ्ना क्षेत्रलाई एक–अर्काका लागि ‘नो–गो जोन’ बनाएका थिए । यस झगडाको असर यहाँका विद्यालयहरूमा पनि पर्यो । अन्ततः ती सुनसान भएका छन् । गत महिना दुवै पक्षले ‘जिरगा’ (कबिलाई पञ्चायत) मार्फत आफ्नो विवाद समाधान गरेका छन् । यद्यपि अदालतहरू हुँदाहुँदै र कानुनी प्रतिबन्ध हुँदाहुँदै जिरगा आयोजना गरिएकोमा प्रश्नहरू पनि उठिरहेका छन् । पछिल्ला नौ वर्षदेखि जारी यो द्वन्द्व र तनावले यी समुदाय र यहाँ बस्ने अन्य मानिसहरूको जीवनलाई कति पीडादायी बनायो भन्ने बुझ्न बीबीसीले सिन्धको भ्रमण गरेको थियो ।

बाख्रा चोरीको आरोपबाट यसरी सुरु भएको थियो झगडा
जलालपुर करिब २०० परिवार बसोबास गर्ने एउटा गाउँ हो । जुनेजो र कल्होड़ा समुदायबीचको विवादमा कुर्बान अली जुनेजोका एक दाजु र दुई भतिजा मारिए । उनीहरू नजिकैको नदी किनार क्षेत्रमा पशु चराउन गएका थिए । आफ्ना दाजुसहित उनको समुदायका २३ जना यस दुश्मनीका कारण मारिइसकेको अली जुनेलोले जानकारी दिए । कुर्बानका अनुसार नौ वर्षअघि यो विवाद बाख्रा चोरीको एउटा घटनाबाट सुरु भएको थियो ।
स्थानीयहरूले बताएअनुसार उक्त घटनामा कथित चोर कल्होड़ा समुदायसँग सम्बन्धित थियो । तर दुवै समुदाय एक–अर्कामाथि बाख्रा चोरीको आरोप लगाउँछन् । पछि मेलमिलापका लागि गरिएको जिरगामा बाख्राको मालिकले घटनामा संलग्न भनिएका तीन जनालाई माफी दिए तर एक जनालाई माफी दिन अस्वीकार गरे ।
उनका अनुसार त्यसपछि यो विवाद बढ्दै गयो र अन्ततः सशस्त्र संघर्षमा परिणत भयो । यसले यो क्षेत्रको व्यापारलाई मात्र होइन, मानिसहरूको जीवनलाई पनि गम्भीर रूपमा प्रभावित गर्यो र धेरैको ज्यान गयो । तर अहिले जिरगामार्फत मेलमिलाप भएपछि कुर्बान जुनेजोलाई आशा छ कि यसले सकारात्मक प्रभाव पार्नेछ र यो क्षेत्रका मानिसहरू फेरि सुखी हुनेछन् । जलालपुर गाउँ राष्ट्रिय राजमार्गबाट करिब एक किलोमिटर टाढा छ । जहाँ एउटा पुरानो प्रहरी चौकी पनि छ, जुन लामो समयदेखि सुनसान रहेको स्थानीयहरूले बताए । प्रहरी त्यहाँबाट सरेको छ ।



