भद्रपुर।

अस्पताल परिसरबाट सवारीसाधन चोरी गर्ने एक व्यक्तिलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् ।झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल परिसर भित्रबाट पछिल्लो समयमा मोटरसाइकल र साइकल चोरी गर्ने समूहको बिगबिगी बढेको थियो । अस्पतालमा बिरामी हेर्ने आउने सर्वसाधारणले पार्किङ गरी राखेको स्थानबाटै सवारीसाधन चोरी हुन थालेपछि प्रहरीलाई चुनौति थपिएको थियो ।
चोर पक्राउ पर्न नसक्दा प्रहरीलाई चुनौति भइरहेको बेला बुधबार बिहान एकजना चोरलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । पक्राउ पर्नेमा मेचीनगर–६ सतिघट्टाका २७ वर्षीय सञ्जु सुवेदी रहेको वडाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए ।
अस्पतालमा बिरामी हेर्न आएका बाह्रदशी गाउँपालिका– ७ गोलुबारीका जयपाल राजवंशीको साइकल चोरी गर्ने क्रममा स्थानीयले सुवेदीलाई रंगेहात पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् । साइकल धनी राजवंशीका अनुसार बिरामी हेरेर फर्किने बेला सुबेदीले साइकलको ताल्चा फुटाइरहेको देखेपछि स्थानीयको सहयोगमा उनलाई पक्राउ गरेको जानकारी गराए ।
यता पक्राउ परेका सुवेदीलाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको प्रहरी निरीक्षक चौधरीले बताए । अस्पताल परिसरबाट तीनवटा मोटरसाईकल र १२ वटाभन्दा बढी साइकल चोरी भइसकेको स्थानीयबासी बताउँछन् । अस्पतालबाट चोरी भएको मोटरसाइकलमध्ये एउटा मोटरसाइकल बेबारिसे अवस्था फेला परेपनि अन्य सवारीसाधन अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

