
प्रहरीले गोली हान्न थालेपछि ज्यान जोगाउन भाग्दै सर्वसाधाराणहरु

झापा,कात्तिक १० । अर्जुनधारा नगरपालिका – ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका निवासी ३० वर्षीय नरेश थापा रहेका छन् । उनलाई दाहिने कोखामा गोली लागेको थियो । गोली लागेर घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिनुभयो ।
प्रहरीले चलाएको गोली लागेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा राजगढ ८ का सुनिल पाठक, मेचीनगर ९ का अशोक वस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधारा ६ का पुण्यप्रसाद लुईटेल रहेका छन् । उनीहरुको बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । त्यस्तै प्रहरीले चलाएको गोली लागेर इलाम माई नगरपालिकाका मणि नेपाली र बिर्तामोड ६ का देवानन्द राजवंशी घाइते भएका छन् ।
यता आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रमेश कुमार सुवेदी , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्ट सहित ३२ जना प्रहरी घाइते भएका छन् ।
वालक सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै झापाको बिर्तामोडमा निकालिएको शान्तिपूर्ण ¥यालीमा प्रहरीले दमन गरेर दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरपछि स्थिति नियन्त्रण वाहिर गएको थियो ।
शनिश्चरे रोडबाट निकालिएको ¥याली प्रहरीकै इस्कर्टिङमा बिर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले नै एकाएक रोकेर सर्बसाधारण माथि लाठीचार्ज गरेपछि सर्वसाधारण थप आन्दोलित भएका थिए । यसैक्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न शुरु गरेको थियो । विहानै ९ बजेबाट सुरु भएको आन्दोलन शुक्रवार दिनभर जारी नै रहयो । प्रहरीले गल्ली गल्ली पसेर सर्वसाधारणलाई कुटपिट गर्नुका साथै अपशब्द बोल्दै बाटो हिड्ने सर्बसाधारण , कार्यालय तथा पसलमा आएका सर्वसाधारणलाई समेत कुटपिट गरेको थियो ।

