Aamsanchar

यसरी हुँदैछ बालक मृत्युको थप छानविन (भिडियोसहित)

Author Image
सोमवार, कार्तिक १३, २०७४

बिर्तामोड । अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिले आइतवारबाट काम शुरु गरेको छ ।
गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादबको संयोजकत्व शनिवार झापा आइपुगेको टोलीले अध्ययन शुरु गरेको हो । चार सदस्यीय उच्चस्तरीय टोलीले मृतक बालक शिवाकोटीको घर गएर उनका बाबुआमा तथा छिमेकीसँग भेटेर घटनाको विषयमा अध्ययन अनुसन्धान गरेको थियो ।
टोलीले बालकको शव पाइएको स्थानकोसमेत अध्ययन गरेको छ । शुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घटना तथा बालक शिवाकोटीको मृत्युका बारेमा छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहेका छन् ।
मृतक बालकको घरमा पुगेको टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव यादवले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै चाँडो भन्दा चाँडो घटनाबारे प्रतिवेदन तयार पार्ने बताएका छन् । उनले स्थानीयवासीसँग घटनाको विषयमा यथार्थ विवरण दिएर अनुसन्धानलाई सहयोग पु¥याउन आग्रह समेत गरेका छन् ।
बरु मलाई गोली ठोक्नुहोस्,
यो हत्या नै हो :  मेयर शिवाकोटी
सरकारद्वारा गठित छानविन टोलीलाई बिर्तामोड नगरपालिकाका मेयर धुव्रकुमार शिवाकोटीले बालकको भवितव्यका कारण मृत्यु नभएको बताएका छन् ।
शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न आएको टोलीलाई उनले सुनियोजित रुपमा हत्या गरेको र कर्तुत लुकाउन सारा प्रपन्च रचेको बताए । उनले गृहमन्त्रालयका सहसचिव यादवको संयोजकत्वमा गठित टोलीलाई भने– मलाई कसैले गोली हानेर मार्छ भने म हस्ताक्षर गरेर मर्न तयार छु, तर लक्ष्मणको डुवेर मृत्यु भएको होइन, उसलाई कसैले हत्या गरेर फालेको हो । उनले वालकको घरमा पुगेको टोलीलाई घटनाको विषयमा जानकारी गराउँदै भने– डिआइजी साव मैले वार–वार भनिरहेको छु, एउटा अपराधी डाक्टर काठमाडौंमा छ, उसले यो बच्चा डुवेर मरेको भनेर रिपोर्ट पठाएको छ अरे ।
भद्रपुरमा पोष्टमाट्र्मका लागि लाँदा यो बच्चा डुवेर मरेको होइन, यो नानीमाथि अन्याय हुन्छ भन्दै धरान लान भनेपछि धरान लगियो । त्यहाँ पोष्टमार्टम गर्ने डक्टरले भनेका छन्, त्यहाँको डीएसपीले भनेका छन्, म उहाँहरुसँग सम्पर्क गराउन सक्छु, यो नानी डुवेर मरेको होइन । तर, म सुन्दैछु काठमाडौमा बस्ने कुनै डाक्टरले पाँचलाख रुपैयाँ खायो अरे, उहाँसम्म पैसा पु¥याइएको छ । यो सरासर षड्यन्त्र हो, यो षड्यन्त्र राज्यका तर्फबाट भएको छ । डीएसपी राजकुमार सिलवाल राज्यको मान्छे हो, उनले हाम्रो कुरा सुनेनन् । मैले एसपी साव, सिडियो साव, डीआइजी साव सवैलाई भनेको छु, यो बच्चाको राम्रोसँग अनुसन्धान गरियोस् तर कसैबाट मेरो कुराको सुनुवाई भएन ।
बिर्तामोडका तत्कालीन डीएसपीले अपराधीलाई उन्मुक्ति दिन बच्चा डुवेर मरेको हो भन्ने प्रमाण बनाएर अपराधी उम्काउन खोजेका छन्– मेयर शिवाकोटीले भने–यो अपराध हो, अपराध कहिल्यैं छिप्दैन, म पशुपतिनाथलाई दश औंला जोडेर भन्छु, हजुरहरुले केन्द्रीय अन्वेषण टोली ल्याएर भए पनि सत्यतथ्य पत्ता लगाएर दोषीलाई कार्वाही गरिदिनुहोस् ।
यसैबीच मेयर शिबाकोटी र उपमेयर पबित्रा महतारा प्रसाईले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी बालकको मृत्युको बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा भएको अप्रीय घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।
स्थानीयबासीले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी नरेश थापाको मृत्यु भएकोे र धेरै सर्बसाधारणलाई घाइते बनाएकोमा हामीलाई अत्यन्त मर्माहत बनाएको छ भन्दै उनीहरुले मृतक बालक लक्ष्मण शिबाकोटीको मृत्युका बारेमा छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउनु पर्दछ भनेर शुरुदेखि नै लागी परेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीयको मागलाई न्यायिक रुपमा निरुपण गर्नुपर्नेमा प्रदर्शनकारीमाथि गोली चलाउने अबस्था सिर्जना गरिनु स्थानीय प्रहरीको कमीकमजोरी पछिको उत्पन्न परिणाम हो भन्ने हाम्रोे ठहर छ– बिज्ञप्तिमा भनिएको छ– यद्यपि कुनै पनि समस्याको समाधान तोडफोड र आगजनी भने होइन ।
बिज्ञप्तिमा यस परिस्थितिबाट नगरलाई शान्त राख्न पीडित पक्षको माग बमोजिम सर्बदलीय सहमति भइसकेको कुरा जगजाहेर रहेको उल्लेख गर्दै विज्ञप्तिमा सबैलाई संयमित रहन आग्रह गरिएको छ ।
यस घटनापछि सरकारी उच्चस्तरबाटै छानबिन समिति गठन भई त्यस समितिले छानबिन कार्य आरम्भ गरिसकेको हुँदा मृतक बालकको परिबारले न्याय पाउनु पर्दछ भन्ने अडान रहेको स्मरण गराउँदै विज्ञप्तिमा स्थानीय सरोकारबालाहरु कै संलग्नतामा छानबिन गरिने र दोषीलाई कानूनी कारबाही गरिने भएकोले त्यस कार्यमा सहयोग गरिदिन हामी सम्पूर्ण नागरिकमा विशेष आग्रह गरिएको छ ।
प्रहरीको गोली लागेर मृत्युबरण गरेका नरेश थापाको परिबारलाई १० लाख राहत उपलब्ध गराउने, घाइतेहरुको उपचार गरिने, तोडफोड भएकोमा उचित क्षतिपूर्ति उपलब्ध गराउने जस्ता बिषयमा सहमति भइसकेको अबस्थामा त्यस सहमतिलाई कार्यान्वयन गरेर जानु नै उचित हो– बिज्ञप्तिमा उल्लेख छ ।
घाइतेको वीएण्डसीमा उपचार हु“दै
शुक्रवार बिर्तामोडमा बालक लक्ष्मणको शंकास्पद मृत्यु भएको बिरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए ।
घाइते मध्ये ५ जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको आइतवार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
घाइते भएर उपचारमा रहेका कनकाई नगरपालिकाका सुशील घतानी रहेका छन् । उनको देब्रे हातमा गोली लागेको र आइसीयु कक्षमा उपचार भइरहेको छ । त्यस्तै मेचीनगर नगरपालिकाका अशोक बस्नेतको पनि देब्रे हातमा गोली लागेको र उनको पनि आइसीयुमा उपचार भइरहेको छ । त्यस्तै राजगढका सुनील पाठकको हिप र पिठ्यँुमा गोली लागेको छ भने उनी पनि आइसीयुमा उपचाररत् छन् । त्यसैगरी अर्जुनधाराका पुण्यप्रसाद लुइँटेलका खुट्टामा गोली लागेकोले उनी हाडजोर्नी कक्षमा छन् भने अर्जुनधाराकै नवराज कोइरालाको टाउकोमा चोट लागेको र न्यूरो कक्षमा उपचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस्तै इलामको माई गाउँपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको र उनको वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । अन्य तीनजना घाइते सामान्य उपचारपछि घर फर्किएको बताइएको छ । झडपमा ७ जना प्रहरी पनि घाइते भएको र उनीहरु पनि उपचारपछि घर फर्किएको बताइएको छ ।
आन्दोलनमा सहभागी
नभएकालाई पनि गोली लाग्यो
झापाको बिर्तामोडमा शुक्रबार भएको प्रदर्शनमा असम्बन्धित व्यक्ति पनि प्रहरीको गोलीको शिकार बनेका छन् ।
प्रहरीको गोली लागेर बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार गराइरहेका पाँच जनामध्ये तीनजनाले नियमित कामका लागि बिर्तामोड आएको बताएका छन् । उपचाररत् सर्वसाधारणले आन्दोलनमा सहभागी नभए पनि प्रहरीको गोलीबाट बच्न नसकिएको दुःखेसो गरे । काम गर्न आएका राजगढका सुनील पाठकलाई घर फर्कने क्रममा गोली लागेको थियो । त्यस्तै कनकाईका सुशील घतानीलाई पनि आन्दोलन हेर्ने क्रममा गोली लागेको हो ।
झडपका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका मणिकुमार नेपालीको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि शनिबार काठमाडौं लगिएको हो । उनको पेट र हातमा गोली लागेको छ । प्रहरीले मनपरी गोली प्रहार गर्दा सर्वसाधारण निशानामा परेको स्थानीयको आरोप छ । प्रहरीका गोली लागेर मृत्यु भएका नरेश थापाको आइतवार कनकाई नदीमा अन्त्येष्टि गरिएको छ ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर