Aamsanchar

झापामा स्तन क्यान्सर रोगीको तथ्यांकै छैन

Author Image
बुधवार, कार्तिक १५, २०७४

नरेन्द्र ढकाल
बिर्तामोड ।

नेपालमा क्यान्सर रोगीको संख्या दिनप्रतिदिन बढी रहेका बेला स्तर क्यान्सरका कारण समेत धेरै प्रभावित भएका छन् । क्यान्सर रोग मध्ये पाठेघरका क्यान्सरका रोगी, स्तन क्यान्सरका रोगी धेरै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले जानकारी दिए ।
अक्टोबर महिनाभर विभिन्न सचेतनामुलक कार्यक्रमका साथ विश्व स्तन क्यान्सरबिरुद्ध कार्यक्रम भए पनि झापामा कुनै कार्यक्रम नगरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले स्वीकार गरेका छन् । क्यान्सरका रोगी बढे पनि यसपटक डेंगु रोग फैलिएका कारण अन्य कार्यक्रम गर्न नपाएको उनको भनाइ छ ।
पश्चिमी शैलीको सिको गरेका कारण क्यान्सर रोगी बढेको जनाइएको छ । सामान्यतया महिलाले आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे ख्याल नगरेका कारण पनि यो रोग बढी रहेको जनस्वास्थ्य प्रमुख कोइरालाले बताए । शरीरका विभिन्न अंगमा भइरहेका स–साना परिवर्तनबारे समयमै थाह नहुँदा ठूलै समस्या आउने चिकित्सकहरुको भनाइ छ । खासगरी महिलाको स्तनमा आउने स–साना गिर्खा, गाँठागुठी कहिलेकाहीँ स्तन क्यान्सरको लक्षण पनि हुन सक्छ भन्ने भएकाले बेलैमा सतर्कता अपनाउन जनस्वास्थ्य प्रमुख कोइरालाले आग्रह गरे ।
वंशाणुगत कारण, ३० वर्ष उमेर कटेपछि बच्चा जन्माउने आमा, स्तनपान नगराउने आमा, पहिलेदेखि नै स्तनमा गाँठागुठी भएका महिला, महिनावारी चाँडै शुरु भई ढिला बन्द हुने महिला, मोटोपन भएका महिला, धेरै चिल्लो बोसोयुक्त खाना खाने र सुर्तीजन्य पदार्थ सेवन गर्ने महिला स्तन क्यान्सरको उच्च जोखिममा रहने चिकित्सकहरुको भनाइ छ । पछिल्लो समय महिलाहरुले आफ्ना बच्चालाई स्तनपान गराउन छाडेकाले पनि स्तन क्यान्सरका बिरामी बढ्न थालेको बताइएको छ ।
यसैबीच झापामा नसर्ने रोगका बिरामीहरु बढेको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका तोया दाहालले जानकारी दिए । उनका अनुसार क्यान्सर रोगी बढे पनि कुन क्यान्सरका बिरामी कति छन् भन्ने तथ्याङ्क छैन । झापामा कूल क्यान्सर रोगीको १५ प्रतिशत स्तनक्यान्सरका रोगी रहेको बीएण्डसी टिचिङ हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवले जानकारी दिए । बीएण्डसी हस्पिटलले समेत क्यान्सरका रोगीको उपचार शुरु गरेको भन्दै उनले स्तन क्यान्सरको विषयमा महिला आफैं सचेत बनेमा यो रोगबाट बच्न सक्ने उल्लेख गरे । बीएण्डसी हस्पिटलले विश्व स्तन क्यान्सरविरुद्ध आइतबार र सोमबार सचेतनामूलक कार्यक्रमको आयोजना गरे पनि बिर्तामोडमा लागेको कफ्र्युका कारण कार्यक्रम गर्न नसकिएको डा. यादवले बताए ।
बर्षेनि बढे क्यान्सर रोगी
झापामा दिनप्रतिदिन क्यान्सरका रोगी बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७१÷०७२मा २ सय ३३ जनालाई जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस गरिएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७२÷०७३ मा २ सय ५६ रहेकोमा गत आर्थिक वर्ष २०७३÷०७४ मा ३ सय ५९ जनामा क्यान्सर रोग रहेको तथ्याङ्क शाखाका दाहालले जानकारी दिए । झापामा महिला क्यान्सर रोगी धेरै रहेको तथ्याङ्कमा उल्लेख छ । क्यान्सर रोग लागेमा सरकारले एक लाख रुपैयाँसम्मको उपचार सहुलियत दिने भएकाले सिफारिस लिन आउनेको संख्या भए पनि यो भन्दा धेरै क्यान्सरका रोगी रहेको चिकित्सकहरुको भनाइ छ ।
स्तन क्यान्सरका कारणहरु के के हुन् ?
रगतले नाता जोडिएका परिवारका सदस्यलाई यो रोग भएको खण्डमा सन्ततिलाई पनि लाग्न सक्ने जोखिम रहने चिकित्सकहरुले बताएका छन् ।
त्यस्तै मोटोपना, शारीरिक शिथिलता, हर्मोनमा आउने गडबडी, हर्मोन प्रयोग भएर बनाइएका औषधिहरु, विकिरणसँगको प्रत्यक्ष सम्पर्क तथा विभिन्न आनुवंशिक रोगहरुले गर्दा समेत यो रोग लाग्न सक्ने जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले बताए । त्यस्तै आमा नबन्नु वा ढिलो उमेरमा आमा बन्नुले पनि स्तन क्यान्सरको जोखिम रहन्छ । बिलासी जीवनशैली, जन्मिदा उच्च तौल तथा स्तनमा हुने अन्य रोगले गर्दा समेत क्यान्सरको सम्भावना रहन्छ ।
स्तन क्यान्सर हु“दा कस्ता लक्षणहरु देखिन सक्छन् ?
स्तन वा काखीमा गाँठो हुनु सबैभन्दा बढी देखिने लक्षण रहेको जनाइएको छ । सबै गाँठा क्यान्सर नहुने तर क्यान्सर हैन भनेर छुट्याउनु चाहिँ जरुरी रहेको बीएण्डसी हस्पिटलका क्यान्सर रोग विशेषज्ञ डा. यादवले बताए । महिनावारी सँगै गाँठो सानो–ठूलो नहुनु, धेरै नदुख्नु, गाँठो स्तनभन्दा बढी कडा हुनु, बाहिर छाला वा भित्र मासुसँग जोडिएको जस्तो महशुस हुनु, स्तनको आकार बिग्रिनु, स्तनको छालामा डिम्पल वा खाल्डाखुल्डी पर्नु, रातो हुनु, धेरै चिलाउनु, स्तनको मुन्टोको आकार बिग्रिनु, चिरा पर्नु वा रगत आउनुले स्तन क्यान्सरतर्फ संकेत गर्ने चिकित्सकको भनाइ छ । त्यस्तै धेरै विकसित भइसकेको स्तन क्यान्सरले हड्डी जोर्नीहरु दुख्ने, अस्वभाविक तौल कम हुने, शरीरमा बिलिरुबिनको मात्रा बढेर जन्डिस भएर आँखा तथा छालामा पहेंलोपना आउने, खानामा रुची नहुने, कमजोरी हुने जस्ता लक्षणहरुले पनि स्तन क्यान्सरको संकेत गर्ने बताइएको छ ।
कसरी बच्ने यो रोगबाट
स्तन क्यान्सरको विषयमा महिला आफैंले आफ्नो स्तन चेकजाँच गर्ने, कुनै गाँठागुठी देखिएमा तत्काल चिकित्सकसंग परामर्श लिनुपर्ने, खानपिनमा ध्यान दिनुपर्ने, चुरोट, मासुको सेकुवा तथा अल्कोहल कममात्र खाने गरेमा यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । नियमित ब्यायाम गर्ने तथा विवाहित महिलाले बच्चालाई स्तनपान गराउने हो भने पनि यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर