भद्रपुर।

झापाको भद्रपुरस्थित मेची नदीमा अस्थायी रुपमा बनाइएको बाँसे पुलमा रकम उठाउन थालिएको छ । भद्रपुर नगरपालिकाको आदेशमा बाँसे पुल भएर गुड्ने सवारीसाधनबाट रकम असुल्न थालिएको हो ।

मैथिल समाज भद्रपुरको सहकार्य र नगरपालिकाको लगानीमा छठ पर्वलाई मध्यनजर गर्दै प्रत्येक बर्षझंै यसबर्ष पनि नदीमा अस्थायी बाँसे पुल बनाइएको थियो । बिगतमा नगरपालिकाले सर्वसाधारणको सेवासुविधालाई मध्यनजर गर्दै केही बर्षदेखि बाँसे पुलमा रकम असुल्ने कार्य बन्द गरेको थियो ।
तर, यसबर्ष फेरि नगरपालिकाले रकम असुल्न थालेपछि सर्वसाधारण आश्चर्यचकित भएका छन् । सर्वसाधारण भन्छन्– नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरबासीले राहत पाउनुपर्ने हो, तर त्यसो भएन् । जनप्रतिनिधि नहुँदा नगरपालिकाले रकम असुल्ने कार्य बन्द गरेको थियो ।

नगरपालिकाले एक लाख ५० हजारको लागतमा ठेक्कामार्फत छठ पर्वलाई लक्षित गरी बाँसे पुल निर्माण गरिएको थियो । छठ सकिएको चार दिनपछि फेरि नगरपाकिालले पुल बनाएको हो । तर, नगरपालिकाले रकम असुल्न पुल बनाएकोमा नगरबासीले आपत्ति जनाउन थालेका छन् ।
भद्रपुर मेची नदी किनारमा रहेका केही युवा समूहले हनुमान मन्दिर बनाउने भन्दै नगरपालिकासँगको सहकार्यमा रकम उठाउन थालेको बताइन्छ । सर्वसाधारण बाहेक पुलवाट सवारी साधन वारपार गर्ने यात्रुसँग युवाहरुले टेबल राखेर रकम लिन थालेका छन् । पुलमा सवारी साधन हिँडाए वापत मोटरसाइकलबाट १०, र साइकलबाट ५ रुपैयाँ असुल्न थालिएको छ । नगरपालिकाको टिकट बिना रकम उठाइँदैछ । हनुमान मन्दिर जीर्ण अवस्थामा रहेकोले मन्दिर मर्मत सम्भार गर्न र बाँसे पुल भत्किएमा बनाउने शर्तमा नगरपालिकाले ती युवा समूहलाई रकम असुल्न अनुमति दिएको बुझिएको छ ।
ती युवा पहिला आफै बाँसे पुलमा रकम असुल्ने कार्यको बिरोधमा उत्रिएका थिए । ती मध्ये केहीले सञ्चारकर्मी समेतलाई फोन गरेर यस्तो कार्य बन्द गराउन अनुरोध गरेका थिए । भद्रपुर मारवाडी संघले बाँसे पुलमा रकम उठाउन नगरपालिकासँग लिखित सम्झौता गरिसकेको जानकारी पाएपछि उनीहरु बिरोधमा उत्रिएका रहेछन् । पछि उनीहरुले रणीनितक योजना बनाएर हनुमान मन्दिरको नाममा रकम उठाउने नगरपालिका समक्ष प्रस्ताव अघि सारेपछि नगरपालिकाले ती युवा समूहलाई नै रकम उठाउन अनुमति दिएको हो ।
भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार भद्रपुर मारवाडी सेवा समितिलाई पुलको जिम्मा दिने भन्ने एक प्रकारको निर्णय भइसकेको थियो । पछि त्यहाँका केही युवा र स्थानीयले आफै पुलको जिम्मा लिने भनेपछि हनुमान मन्दिर समितिलाई जिम्मा दिएको उनले बताए । मन्दिर समितिले मासिक १५ हजार नगरपालिकामा बुझाउने गरी जिम्मा दिएको उनले बताए । पुलबाट उठेको रकमले मन्दिर तथा पुलको मर्मत समितिवाट नै गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिए ।
यता भद्रपुर मारवाडी सेवा समितिका पदाधिकारी भन्छन्– नगरपालिकाले हामीसँग गरेको निर्णय उल्टिएको बारेमा हामीलाई कुनै पनि जानकारी आएको छैन । त्यस्तै मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झाले विगत बर्षझंै यसबर्ष पनि नगरपालिकाले पुलमा निःशुल्क सेवासुविधा दिनुपर्ने बताए । यसबारेमा नगरपालिकासँग कुरा पनि ग¥यौं, तर नगरपालिकाले लगानी गरेको बिषयमा समाजले हस्तक्षेप गर्न नमिल्ने उनले बताए । नगरपालिकाले लगानी गरेको बिषयमा सम्पूर्ण अधिकार नगरपालिकाकै स्वामित्व रहेको उनले प्रष्ट पारे ।

