बिर्तामोड, कात्तिक २३ । नेपालको पूर्वी तराईमा रहेको डोम बस्तीमा बस्ने लाटीको कथा बोकेको नाटक ‘लाटीको छोरो’ २४ गते बाट झापामा प्रदर्शन गरिदैछ । नेपाली नाटकका अग्रज तथा पाका कलाकार टिका पहारीले यही नाटकबाट नाटक क्षेत्रमा पुनः पुनरागमन गरेका छन् । समाजमा विभिन्न पद धारण गरी बस्ने विभिन्न व्यक्तिहरूको बाहिरी रुप जस्तो भए पनि भित्र – भित्रै दुष्ट प्रवृतिका हुने कुरा यस नाटकमार्फत प्रस्तुत गर्न खोजिएको छ । केही बोल्न नसक्ने एउटी लाचार युवती कसरी समाजमा उच्च मानिएका व्यपारी, पण्डित, शिक्षक, प्रहरी लगायतको कामश्त्रको शिकार बन्छिन र त्यसपछिको अवस्थालाई यस नाटकमा चित्रण गरिएको छ ।
परापूर्वकालदेखि बसोबास गर्दै आइरहेको डोम समुदायमाथि राजनीतिक, आर्थिक र सामाजिक रुपले हस्तक्षेप गरिरहेका असुन्दर मानिसहरूको बसोबास रहेको सुन्दर बजारको कथालाई यस नाटकमा प्रस्तुत गरिएको छ । श्याम शहा यस नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । जुन नाटक कात्तिक २५ गतेबाट १० दिनसम्म पूर्वमा देखाइने भएको छ । झापाको बिर्तामोडस्थित अतिथि सदनमा २५ गतेबाट २९ गतेसम्म यो नाटक देखाइने विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । मंसीर १ देखि २ गतेसम्म शिवसताक्षी र विराटनगरको गुरुकुल नाटकघरमा देखाइने तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वि.सं. २०३३ मा नाटकमा अभिनय गरेपछि चलचित्रमा रमाउन पुगेका अभिनेता पहारी तीन दशकको अन्तरालपछि नाटक लाटीको छोरोमार्फत रंगमञ्चमा फर्किएका छन् । उनीसंगै केनिपा सिंह, पशुपती राई, सन्देश लामिछाने, कुन्दन चौधरी, रियर राई, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले, सुदिप खतिवडा, आयान खड्का, मिलन कार्की, अर्बि खड्का, अर्चना पन्थी र सपना कुमारी चौधरीको अभिनय रहेको छ ।
नेपालीमा एउटा उखान छ ‘जो होचो उसैको मुखमा घोचो’ अर्थात जो निर्वल छ, जो असहाय छ उसैलाई नै दुःख बढी पर्छ, समाजले अपहेलना गर्छ । यस्तै समाजबाट हेपिएकी पात्र हो लाटी । यसैलाई पात्र बनाएर यो नाटक तयार गरिएको छ ।
नाटकमा जब लाटीको पेट उठेको देखियो, सुन्दर बजारमा एक किसिमको भुइँचालो नै आयो । प्रत्येक मानिसका मुखबाट लाटीको पेटको चर्चा सुनिन थाल्यो । कसैका लागि त्यो ठट्टाको विषय बन्यो । कसैका लागि त्यो सामाजिक प्रतिष्ठाको विषय पनि बन्यो । केही बुद्धिजिवी जो आफूलाई समाजिक रूपले प्रतिष्ठित ठान्थे, तिनीहरुले लाटीलाई पेट बोकाउने मानिसको खोजी गरिपाउँ भनेर थानामा निवेदन हाले । पटक– पटक बिसनाथ बाबुकहाँ पञ्चायती बसाउनका लागि धाउन थाले । तर कोही – कोही भने नराम्ररी झस्के । जसका रातका निन्द्रा समेत गायब भए । यो तिनै मानिसहरुको कथा समेटिएको छ ।
मूलतः मधेसी समुदायको जस्तो लाग्ने नाटकले सिंगो समाजलाई चित्रित गरेको छ। असहाय र एकल महिलाको अवस्था, उमाथि परिवार र समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणलाई छर्लंग पारेको छ । आफूमाथि भएको अन्यायको विरोधमा आवाज उठाउँदा कसरी महिला बोक्सी हुन्छन् भन्ने तीतो यथार्थ नाटकले पर्दाफास गरेको छ । अन्तमा जब स्कुलबाट फर्कंदै गरेको एक बालकको चुनाव जितेर मन्त्री बनेपछि सुन्दर बजार आएको उही नेतासँग जम्काभेट हुन्छ, नेताले उसको परिचय सोध्छ। बालकले ‘म लाटीको छोरो’ भन्दै परिचय दिएपछि उसको अनुहारमा आफ्नै अनुहार प्रस्टै देखेको नेता थचक्कै बस्न पुग्छ । नाटकको सार यही हो ।