Aamsanchar

बिर्तामोडमा अब ३६५ दिनै रक्तदान

Author Image
शनिवार, कार्तिक २५, २०७४

बिर्तामोड।

बिर्तामोडमा रहेका विभिन्न दश वटा सामाजिक संघ–संस्थाका प्रतिनिधिले दैनिक रक्तदान गर्ने उद्घोष गरेका छन् ।

ती संघ–संस्थाका प्रतिनिधिले रगत अभावलाई टार्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखामै गएर दैनिक एक–एक जनाले रक्तदान गर्ने उद्घोष गरेका हुन् । रोटरी क्लव अफ बिर्तामोड र रोट्रयाक क्लव अफ बिर्तामोडको संयोजनमा आज कात्तिक २५ गतेदेखि नियमित रुपमा ३ सय ६५ दिन नै रक्तदान गर्न लागिएको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

आयोजक संस्थाका रुपमा रोटरी क्लव र रोट्रयाक क्लव रहने र सहआयोजकको रुपमा हेल्पिङ हेन्ड्स, क्रिएटिभ नेप्लिज युथ, दाह्री ग्याङ, एम के के गु्रप, रोट्रयाक क्लव अफ बिर्तामोड, अनारमनी सामाजिक युवा परिवार, क्षितिज युवा परिवार, टे«डर्स नेपाल लगायतका संस्था रहेका छन् । प्रत्येक संस्थाले हप्ता र महिनाको पालो बाँधेर रक्तदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रत्येक दिन रक्तदान गरेमा ती सबै रगत खपत हुने र बिरामीले पनि ताजा रगत पाउने हुँदा यस्तो अभियान शुरु गरिएको रोट्रयाक क्लवका अध्यक्ष बसन्त बुढाथोकीले बताए ।

रोटरी क्लव अफ बिर्तामोडका इलेक्टेड प्रेसिडेन्ट निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रमलाई सफल बनाउन एजुकेशनल पार्क एब्सुलेट फुडसल, एब्सुलेट रेष्टो बार एण्ड ग्रील, एब्सुलेट सुजुकी शोरुम इटहरी र अष्टलक्ष्मी टे«डर्स बिर्तामोडले सहयोग गर्ने बताइएको छ ।

रोटरी क्लव अफ बिर्तामोडका पूर्व अध्यक्ष मिनप्रकाश मैनालीले युवाहरुको सक्रियतामा गर्न लागिएको कार्यक्रम नेपालमै नौलो भएको र त्यति नै चुनौति रहेको बताए । उक्त कार्यमा सबैले सहयोग पुर्याउनु पर्ने धारणा राख्दै उनले भने– ‘मानव जीवनसँग जोडिएको यो कार्यलाई सफल बनाउन हामी सबैको दायित्व हो । त्यस्तै वीरता जेसीजका पूर्व अध्यक्ष जीतेन्द्र बस्नेतले १९९० ताका यस प्रकारको कार्यक्रम शुरुवात गरे पनि सफल हुन नसकेको र पछिल्लो पिढीले जीवनसँग जोडिएको सामाजिक पाटो समाएर थालनी गरेको सो कार्यको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बिर्तामोडका इलेक्टेड प्रेसिडेन्ट भट्टराईले मानिसलाई रक्तदान गर्नुपर्छ भन्ने भावना जागृत गराउन र जिल्लामा रगत अभाव हुन नदिई बिरामीको ज्यान जोगाउन नौलो कार्य थालिएकाले सफल तुल्याउन सबैलाई आग्रह गरे । रक्तदान कार्यक्रम आज शनिबार नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको परिसरमा बिहान ७ बजेबाट शुरु हुँदैछ । विभिन्न संघ–संस्थाका अध्यक्ष र प्रतिनिधिले रक्तदान गरेर कार्यक्रमको शुरु गरिने बताइएको छ ।

एक–एक हप्ता एक–एक संस्थाका प्रतिनिधिले रेडक्रस भवनमा गएर रक्तदान गर्नेछन् । दुई–दुई महिनामा रगत संकलनका लागि ब्लड केम्पेन गर्ने, एउटै ब्यानरमा रही रक्तदान कार्यक्रम गर्ने र रक्तदान गर्न अनिवार्य फारम भर्नुपर्ने बताइएको छ । सामाजिक कार्यमा उत्कृष्ट कार्य गर्दै आएको रोटरी क्लव अफ बिर्तामोड र रोट्रयाक क्लव अफ बिर्तामोडले यसअघि मेची आँखा अस्पताल सैनिक मोडलाई आइएलसो ५०० हस्तान्तरण गरेको थियो ।

बाढीपीडितका लागि राहत वितरण सँगै बुट्टाबारीमा रहेको गन्दर्भ परिवारलाई भवन निर्माणका लागि सहयोग पुर्याएको, विभिन्न ठाउँमा स्वास्थ्य शिविरको आयोजना गरिएको, सरस्वती प्रावि इँटाभट्टामा खानेपानी, विद्युत् जडान, कम्प्युटर वितरण र विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा विकास बस्नेत र सुमन पोद्दारले बोलेका थिए ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर