
बिर्तामोड, कात्तिक २८। झापाको कनकाई माई कोटीहोम परिसरमा निर्मित समर्पण कर्मयोग भवन (काजकिरिया गर्ने घर) का लागि भद्रपुरस्थित नेपाल सामुदायिक विकास केन्द्र (एनसीडिसी)ले एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ ।
एनसीडीसीका संस्थापक अध्यक्ष रामप्रसाद ढुंगानाले आज मंगलबार भद्रपुरमा समर्पण कर्मयोग भवन निर्माण समितिका अध्यक्ष महेन्द्रकुमार गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कर्मयोग भवनमा अधिकांश झापालीको समर्पण रहेकाले संस्थाको तर्फबाट उक्त रकम समर्पण गरिएको अध्यक्ष ढुंगानाले बताए ।
आम झापालीको लगानीमा निर्मित कर्मयोग भवन विकासको नयाँ मोडल भएको बताउँदै ढुंगानाले यस्तो कार्यमा सहयोग गर्न अरुलाई पनि आग्रह गरे । दश करोड रुपैयाँको गुरुयोजनासहित निर्माण थालिएको कर्मयोग भवनको पहिलो तला करिब दुई करोड रुपैयाँको लागतमा सम्पन्न भएको अध्यक्ष गिरीले बताए । भवनको एउटा ब्लकमा सर्पदंश उपचार केन्द्र शुरु गरिएको छ भने चार परिवारका लागि काजकिरिया गर्ने ब्लक पनि तयार भइसकेको गिरीले बताए ।
सहारा नेपाल साकोसको अगुवाइमा झापाका ६८ वटा संस्थाको सामुहिक आयोजनामा भएको समर्पण राष्ट्रिय अभियान अन्तर्गत उक्त भवन निर्माण गरिएको हो । कर्मयोग भवनलाई सहयोग गर्ने एनसीडिसी ०४८ सालमा स्थापना भई सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ । तस्वीरः कमलप्रसाद पाण्डे (विनोद)/आमसंचार
Views: 152

