बिर्तामोड ।
सामाजिक सेवा र विकासको क्षेत्रमा ‘रोलमोडल’ बनेका झापा बिर्तामोड–२ चारपानेका महेन्द्रकुमार गिरी शनिवार अर्जुनधारामा सम्मानित भएका छन् । उनलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरिएको हो ।
सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक गिरीलाई अर्जुनधारा–९ कालीस्थानस्थित कालिकापीठले १४औं बार्षिक अनुष्ठानको अवसर पारेर सम्मान गरेको हो । सम्मानित व्यक्तित्व गिरीलाई डिल्लीराम दाहालले नगद पुरस्कार, पीठका सल्लाहकार पर्शुराम कटुवालले दोसल्ला र कोषाध्यक्ष खडानन्द खतिवडाले माला अर्पण गर्दै सम्मान गरेका थिए । सम्मानित गिरी ०३९ सालदेखि सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
गिरीको परिकल्पनामा स्थापित सहारा नेपाल गैरसरकारी संस्था र सहारा नेपाल सहकारी अहिले मुलुककै नमूना संस्थाका रुपमा अघि बढेका छन् । सहारा नेपाल साकोसले अहिले लद्युवित्तसहितको सेवा पूर्वका ६ जिल्लामा प्रवाह गरिरहेको छ । सहाराको अगुवाईमा महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, सानो–सानो रकमबाट पनि सामाजिक क्षेत्रमा धेरै कार्य र विकास निर्माण गर्न सकिन्छ भन्ने समर्पण राष्ट्रिय अभियानको सफलता प्राप्ति, कर्मयोग भवन निर्माण, रेडक्रससँगको सहकार्यमा सर्पदंश उपचार केन्द्र स्थापना, पत्रकार सहारा उपकार कोषमा सहयोग, विपद्मा परेकालाई गरेको योगदानको सो अवसरमा चर्चा गरिएको थियो । गिरीको सकारात्मक र रचनात्मक सोचका कारण झापासहित पूर्व क्षेत्रमा नमूना कामहरु भएकाले उनको योगदानको कदरस्वरुप सम्मान गरिएको कालिकापीठले जनाएको छ ।
गिरीले सम्मानप्रति खुशी र आभार प्रकट गरेका छन् । उनले सम्मान तथा पुरस्कार स्वरुप आफूलाई प्राप्त हुने रकममा थप गरी कोष स्थापना गरेर जीवनभर सामाजिक काममा लागीरहने उद्घोष समेत गरेका छन् । गिरीले आफ्नै नाममा एउटा छुट्टै कोषको स्थापना गर्ने सोच बनाएको बताइएको छ ।