Aamsanchar

देशभर वर्षा, ठूला नदीमा बाढी, सतर्क रहन चेतावनी

Author Image
शुक्रवार, असार १७, २०७३

झापा ।

indexb

देशका अधिकांश स्थानमा आज वर्षा भइरहेको छ । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने जनजीवन प्रभावित भएको छ ।

ठूला नदीमा पानीको बहाव उच्च छ । अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढ्न थालेको छ । पानीको बहाव बढेसँगै पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ ।

महाकाली नदीमा आज १ लाख ८५ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ । नदीमा १ लाख क्युसेक पानी पुगेपछि खतरा मानिन्छ । बिहान १० बजेदेखि बनवासा पुलमा चारपाङ्ग्रे सवारी आवामगन बन्द गरिएको र महाकाली तटीय क्षेत्र आसपासका बस्तीमा बाढी पस्ने सम्भावना भएकाले त्यहाँका बासिन्दालाई सर्तक रहन सूचना जारी गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए ।

त्यस्तै जिल्लाका दोदा, मनहरा, स्यालीलगायतका नदीमा समेत पानीको सतह बढेको छ । यसैबीच सप्तकोसी नदीमा पानीको बहाव बढेर १ लाख ३० हजार क्यूसेक पुगेको छ । नदीमा अहिले ब्यारेजका ५६ मध्ये १९ वटा ढोका खोलिएका छन् ।

त्यस्तै अविरल वर्षाका कारण दार्चुलाका विभिन्न स्थानमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । एक महिला वेपत्ता भएकी प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर मालिकार्जुन ८ की बसन्ती धामी र सर्मोली ४ मा एक पुरुषको मृत्यु भएको हो । ती पुरुषको पहिचान खुलेको छैन । यस्तै, अपी नगरपालिका १७ काकडाका प्रेमसिंह महराकी श्रीमती वेपत्ता भएको दार्चुलाका डिएसपी सुशिलसिंह राठौरले जानकारी दिनुभयो ।

सर्मोली लगायत जिल्लाका पहिरो खसेपनि वर्षाका कारण उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । जिल्लाको मुख्य सडक नै विभिन्न ठाउमा अवरुद्ध भएकाले उद्दारमा थप कठिनाई भएको छ ।

त्यस्तै दार्चुलाको उकु गाविसको जौलजिवीमा आज बिहान ३ बजेतिर पहिरो जादा दर्जन बढी घरहरु जोखिम छन् । पहिरो खस्ने क्रम रोकिएको छैन ।

स्थानीय डम्बर बहादुर चन्दको घर पहिरोले पुरिएको स्थानीयले बताएका छन् । संगै रहेका उमाकान्त जोशी, केशवराज उपाध्याय, दिवानन्द जोशी, पदमबहादुर चन्द, धनपति सिंह धामी लगायत दर्जन बढी घरहरु जोखिम रहेको स्थानीय लोकेन्द्रसिह धामीले बताए ।

जौलजिवीमा रहेको प्रहरी चौकीभित्र हिलो र पहिरोले झ्यालहरुमा क्षति पुगेको छ । प्रहरी चौकीमा क्षति पुगेपछि जौलजिवीस्थित छोटी भन्सारको भवनमा सरेको दार्चुला प्रहरीले जनाएको छ । जौलजिवी गाउँमा १२ देखि १३ घरपरिवारको बसोबास छ । सबै परिवार पहिरोको उच्च जोखिममा छन् । पहिरो आउने क्रम नरोकिएकाले आफुले घरको सामान सारिरहेको उनले बताए ।

जौलजिवीमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको भारतपट्टीको पिलर भत्किदा एक महिना अघिदेखि पुलमा आवतजावत बन्द गरेको छ । ओल्लो पल्लो गाउँ जाने बाटोमा पहिरो खसेको हुँदा भारत बाहेक अन्य ठाउँ जाने बाटो नभएको धामीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर