Aamsanchar

भारतद्धारा धमाधम दशगजामा सडक निर्माण, प्रशासन बेखबर

Author Image
शुक्रवार, माघ १९, २०७४

झापा।

दक्षिणी झापाको कचनकवल गाउँपालिका–१को पिण्डलवारीसँग सीमा जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षले सडक निर्माण कार्यलाई तीव्रता दिएको छ ।

किसनगञ्ज जिल्लाको धन्तोला ग्राम पञ्चायत र कचनकवल गाउँपालिका–१को पिण्डलवारीको दशगजा क्षेत्रमा भारतीय पक्षले सीमा मिच्दै सडक निर्माण कार्यलाई तीव्रता दिएको हो । नेपाल र भारत सीमाको १२७ नम्वरदेखि १२९ नम्वर पिलरसम्मको दशजगा क्षेत्रमा भारतले अहिले धमाधम सडक निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय कानून तथा दुई देशवीच भएको सम्झौता अनुसार दशजगा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न, बसोबास गर्न पाइँदैन ।

तर, भारतीय पक्षले अहिले १२७ नम्वरदेखि १२९ नम्वर पिलरसम्मको दशजगा क्षेत्रको मध्य भागमा नेपालतर्फ पिचबाटो निर्माणको काम तीव्र पारेको छ । पूर्वाञ्चलकर्मी उक्त क्षेत्रमा पुग्दा सडक निर्माण भइरहेको र भारतीय क्षेत्रमा बसोबास गर्ने भारतीयले आफूहरुलाई दशगजा क्षेत्रको वारेमा कुनै जानकारी नभएको बताए ।

वाह्रदशी गाउँपालिका वाड नम्वर २का स्थानीय खगेन्द्र ओझाले भारतले दशगजाको महत्व नै नबुझेर अतिक्रमण गरेको आशंका व्यक्त गर्दै नेपाल सरकारले दशजगा क्षेत्रमा सीमा सुरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए । आफूलाई किसनगञ्ज जिल्ला धन्तोला ग्राम पञ्चायतको सदस्य बताउने तेजनारायण गिरीले भारत सरकारको प्रधानमन्त्री कोषबाटै सडक निर्माणका लागि बजेट विनियोजन भएपछि आफूहरुले सरकारी योजना अनुसार सडक निर्माण गरिरहेको बताए । उनले धन्तोला ग्रामपञ्चायतबाट दिघलवैंक बजारसम्म जोड्ने सडक निर्माण शुरु गरिएको पनि बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक नेत्रबिक्रम रानाले भारतीय पक्षले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको थाहा पाएपछि आफूहरुले सम्बन्धित निकायमा जानकारी गराउँदै भारतीय पक्षलाई सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरे पनि उनीहरुले अटेर गरेको बताएका छन् । दशैतिहारकै बेला नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकमा दशगजा क्षेत्रमा बनाइएका अस्थाई संरचना र सडक निर्माण कार्य रोक्न भने पनि हालसम्म भारतीय पक्षले टेरेको छैन– उनले भने ।

दशजगा क्षेत्र अतिक्रम बढेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय राजगढले सीमा क्षेत्रको निरीक्षण गरेको थियो । कचनकवल गाउँपालिकाकै वार्ड नम्वर १मा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरीको वेस क्याम्प छ । तर, सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी टोली भने वेखबर छ । न सीमा मिचिएको विषयमा स्थानीय जनप्रतिनिधि जानकार छन् न त सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले कुनै अग्रसरता देखाएको छ ।


यसैबीच सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका प्रहरी उपरीक्षक रमेश सुवेदीले भारतीय पक्षबाट सीमा नमिचिएको दावी गरेका छन् । पूर्वाञ्चलकर्मीले सीमा निरीक्षणपछि सीमा मिचिएका बारेमा कुरा गर्दा प्रहरी उपरीक्षक सुवेदीले यदि त्यस्तो भएको पाइए तत्काल प्रहरी टोली पठाएर निर्माण कार्य रोक्ने बताए । नापी विभागका अनुसार नेपाल भारत सीमानाको लम्बाइ १८ सय ८० किलोमिटर रहेको छ । त्यसमध्ये करिब ६४० किलोमिटर सीमाना नदी रहेको छ ।

सो विभागका अनुसार नेपाल र भारतका अधिकारीहरूले तयार पारेको एक नक्सा अनुसार दुई देशबीचको सीमानामा ८ हजार ५ सय ५३ वटा सीमा स्तम्भ रहनुपर्दछ । तर, अहिलेसम्म करिब ६ हजार जति स्तम्भ मात्रै निर्माण हुन सकेका छन् । सीमा स्तम्भहरू निर्माण गर्ने काम तीन वर्षभित्र सकिने सरकारी अपेक्षा थियो । सन् २०१७भित्र सीमा स्तम्भ निर्माण गरिसक्नु पर्ने भए पनि अहिलेसम्म सवै सीमा स्तम्भ निर्माण भएका छैनन् । अधिकारीहरूका अनुसार महाकालीको कालापानी र नवलपरासीको सुस्ता बाहेक अन्य स्थानका सीमा विवादको समाधान दुई देशका प्राविधिकहरूले निकालिसकेका छन् ।

पूर्व क्षेत्रको ताप्लेजुङदेखि सुनसरीसम्मको नेपाल–भारत सीमानामा १ हजार १ सय ७३ वटा पिलर निर्माण गर्नुपर्नेछ । त्यसमध्ये ७ सय पिलर निर्माण भइसकेको ४ सय ७३ पिलर निर्माण हुन बाँकी रहेको बताइएको छ । सर्वे अफ नेपाल–भारतका पदाधिकारीका अनुसार सीमा क्षेत्रमा साना, मझौला र ठूला गरी १ हजार १ सय ७३ पिलर निर्माण गर्नुपर्ने छ । बाढीले बगाएको पिलरको हकमा अहिले दुवै देशका सर्वे टोलीले मेसीनमार्फत सर्वे गरेको छ ।

सर्वे पश्चात चिन्ह लगाएर नयाँ पिलर निर्माण भइरहेको सर्वे टोलीका उपसचिव शिव लम्सालले बताए । झापा र मोरङसँग जोडिएको किसनगञ्ज सीमा क्षेत्रमा मात्र अझैं १ सय ९१ वटा पिल्लर निर्माण हुन बाँकी रहेका छन् । त्यस्तै नेपाल–भारतको सीमा बैठकमा मेची नदीमा देखिने जलचर प्राणी डल्फिनको संरक्षण गर्दै पिलर निर्माण गर्न दुई पक्षीय अधिकारीहरूले सहमति जनाएका छन् । सर्वे अफ नेपाल–भारतका पदाधिकारीका अहिले सीमा स्तम्भको अवलोकन र सर्वे र निर्माण गरिरहेका छन् तर भारतीय पक्षले कचनकवल गाउँपालिकाको सीमावर्ती क्षेत्र दशजगामा सडक निर्माण गरिरहेको छ ।

भारतीय विदेशमन्त्री नेपालमा
भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आएकी छन् । भारतले नेपालको सीमानामा बनाउँदै आएको बाँध र तटबन्धबाट उत्पन्न डुबानको समस्या समाधान गर्न समुचित व्यवस्था मिलाउन भारतसँग नेपालका नेताहरुले कुरा उठाउन जरुरी रहेको सीमा विज्ञहरु बताउँछन् ।

नेपाल र भारतकाबीचमा असन्तुलित रुपमा रहेका कालापानी, सुस्ता आदि जमिनको समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालका नेताहरुले अडान राख्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । प्रधानमन्त्रीको विकास कार्यक्रम भन्दै भारतले अन्तर्राष्ट्रिय सीमाको खिल्ली उडाएर सडक निर्माण गरिरहँदा भारतीय विदेशमन्त्रीसँग सीमाको विषय भन्दा सरकार गठन र बाम तालमेलले प्राथमिकता पाउने संकेत देखिएको छ । नेताहरुले आफ्नो स्वार्थ अनुकूल कुरा गर्दा देशको अस्तित्वमाथि गम्भीर आघात परिरहेको सीमावर्ती क्षेत्रमा सर्वसाधारणको भनाइ रहेको छ ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर