Aamsanchar

प्रदेश नंं १ को प्रदेशसभाको पहिलो बैठक आज

Author Image
सोमवार, माघ २२, २०७४

झापा ।

प्रदेश नंं १ र ४ मा सोमबार प्रदेशसभाको पहिलो बैठक बस्दैछ । बैठकको लागि सबै तयारी पूरा भएको छ । १ नम्बर प्रदेशका सांसदहरु विराटनगर र ४ नम्बर प्रदेशका सांसदहरु पोखरा पुगिसकेका छन् । सोमबार हुने प्रदेश नं १ को पहिलो बैठकका लागि आइतबार जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्व अभ्यास बैठक सञ्चालन गरियो ।

ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभा सञ्चालन गर्नुभयो । उहाँले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त पत्र सुनाउँदै प्रदेशसभा सदस्यलाई स्वागत गर्दै बैठक सञ्चालन गर्नुभयो ।

त्यस अवसरमा ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । ज्येष्ठ सदस्य सरावगीले प्रदेशसभा सञ्चालन आन्तरिक विधि पारित गर्न सदस्यहरुलाई आह्वान गर्नुभयो । उहाँले यही माघ २९ गते हुने प्रदेश सभामुख निर्वाचनका लागि आज सूचना जारी गर्न प्रदेश सचिवालयलाई आह्वान गर्दै आगामी माघ २९ गतेसम्मका लागि सदन स्थगित गरिएको जानकारी गराउनुभयो ।

पूर्वाभ्यास बैठकमा प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश सचिवालयका कर्मचारी, जिल्ला समन्वय समितिका कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । त्यस अवसरमा प्रदेशसभा सञ्चालनका क्रममा आइपर्ने विभिन्न बाधा व्यवधानको समस्या समाधान गर्न मर्यादापालकले गर्नुपर्ने कार्य सम्बन्धमा पनि पूर्वाभ्याससमेत गरिएको थियो ।

प्रदेश नं १ को पहिलो अधिवेशनको भव्य तयारी गरिएको छ । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ । पहिलो अधिवेशन सञ्चालनका लागि तयारी पूरा भइसकेको संसद् सचिवालयका सहसचिव धु्रव घिमिरेले जानकारी गराउनुभयो ।

प्रदेशसभा भवनको माथिल्लो भाग अर्थात रोस्टममा कार्पेट बिछ्याएर सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिएको छ । रोस्टमको मुनि भागमा निलो कार्पेट बिछ्याएर संसद् सदस्यको कुर्सी राखिएको छ । सभा भवनमा एकातर्फ सत्तापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिएको छ । त्यसको पछाडिको भागमा सञ्चारकर्मीको लागि कुर्सीको व्यवस्था गरिएको छ ।

सभा भवन परिसरको सुरक्षाको व्यवस्था पनि चुस्त गरिएको छ । भवनको प्रवेशद्वारमा ‘मेटल डिटेक्टर’को पनि व्यवस्था गरिएको छ । सभा भवन साँघुरो भएकाले सञ्चारकर्मीलगायत आमन्त्रित व्यक्तिका लागि परिसरमै बस्ने व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराउनुभयो । परिसरबाट टिभी वा प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।

संसद भवन भित्र १ सय ५० जना अट्न सक्ने गरीे ब्यवस्थापन गरिएको छ । ९३ जना संसद रहेकोमा आजको लागि भने केही विशिष्ठ व्यक्तिहरु पनि सभाहलमा राखिने गरी ब्यवस्थापन गरिएको छ । संसद भवन प्रवेशमा ५ किसिमको परिचय पत्र लागू गरिएको छ ।

बैठक संचालन गर्ने बारेमा सर्वदलीय नै निर्णय गरिसकेको छ । बैठकको शुरुवाती अवस्थामा नै प्रदेश प्रमुखबाट प्राप्त पत्र बढेर सुनाईने छ । सभामुखको सहयोगको लागि बिभिन्न दलबाट ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिने, अधिवेशनमा शुभकामना मन्तब्य ७ जनाले राख्नेछन् ।

प्रदेशसभामा सहभागी दलहरुमध्येबाट ६ जना र १ जना स्वतन्त्र रहने संसद सचिवालयले जनाएको छ । वैठकले सभा संचालन सम्बन्धी अन्तरिम कार्यविधि पास गर्नेछ । संसद सचिवालयका अनुसार, पहिलो वैठकमा सरकार बनिनसकेको अबस्थामा संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदलाई ठूला दलका सांसदलाई दाहिने तिरबाट बसाईने छ । त्यसपछि साना दलका सांसद बस्नेछन् ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर