[नारायण ढुंगाना]
चितवन,
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । अहिलेको मौसममा चोरी तस्करका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो ।
उहाँले अहिले गाउँगाउँमा २÷३ महिनाका लागि नयाँ सुराकीहरु थपेर सूचना संकलनको काम समेत थालिएको जानकारी दिनुभयो ।
अहिलेको मौसममा जंगलको टाढासम्म वन्यजन्तुहरु देक्न सकिन्छ । झाडीहरु सुकेकाले पनि चोरी शिकारीहरु सल्बलाउन सक्छन् । वन्यजन्तुहरु शीतल खोज्दै पानीको नजिक आउने क्रम शुरु भएकाले यसलाई ध्यानमा राखेर सुरक्षा चुस्त पारी गस्ती बढाइएको ढकालले बताउनुभयो । विगतको अभिलेख अनुसार पनि यो मौसममा जंगली जनावरविरुद्ध तस्करहरु सक्रिय भएका उदाहरणहरु छन् ।
“खाली ठाउँ, संवेदनशील क्षेत्र पहिचान गरी अस्थायी क्याम्पहरु समेत निर्माण गरेका छौं, साविकको गस्तीमा थप गरेर सुरक्षामा कडाइ गरिएको छ,” ढकालले भन्नुभयो, “सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौं ।” विगतको अभिलेखअनुसार फागुन, चैत र बैशाख महिनामा गैंडाको चोरी शिकार हुनेगरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।
विसं २०७१ वैशाख १९ गते पश्चिम चितवनको ध्रब नजिकै गैंडालाई तस्करले मारेर खाग लगेको थियो । त्यसपछि निकुञ्जले सुरक्षा व्यवस्था कडा गरेको थियो जसको परिणाम स्वरुप १ हजार ७१ दिनसम्म शून्य चोरी शिकार वर्ष मनाइयो ।
फेरि २०७३ चैत २५ गते तस्करले जगतपुरस्थित वेलहट्ठा हरियाली सामुदायिक वनमा अर्काे गैंडा मारेर खाग लग्यो । यो र यसअघिका घटना पनि यही मौसममा तस्करी भएको छ ।
स्थानीयवासीसँग मिलेर बटुक दल गणका सेना र निकुञ्ज कर्मचारीको संयुक्त गस्ती, स्मार्ट पट्रोलिङ, रियल टाइम पट्रोल, अपरेशन महाहन्ट लगायतका प्रविधिको प्रयोग गरेर संरक्षणमा कडाइ गरिएको छ । खाली ठाउँ पहिचान गरेर अस्थायी मचान निर्माण गरी रात्रि गस्ती तथा समुदायसँग मिलेर सूचना संकलनलाई समेत प्रभावकारी बनाइएको निकुञ्जले जनाएको छ ।
नेपालकै पहिला संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा दुर्लभ एकसिंगे गैंडा र १२० वटा पाटे बाघ रहेको अभिलेख छ ।