झापा ।
अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि आज चेतनामुलक कार्यक्रम गरि मनाइँदैछ । एक सय ८ औं महिला दिवसको यो वर्षको नारा “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण“ तय गरिएको छ ।
महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको छ । महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ देखि यो दिवस मनाउन थालिएको हो ।
सन् १९१० को मार्च ८ मा कोपनहेगनमा बिभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीहरुको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई महिला दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाले निश्चित घन्टाको काम हुनुपर्ने माग सहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिन्छ ।
नेपालको संघीय संसदमा ३३ प्रतिशतभन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुनुलाई नेपाली महिलाको ठूलो उपलब्धी मानिएतापनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून छ । महिला अधिकारवादीहरुले नेपालमा महिलाको अवस्थामा अझै अपेक्षित सुधार नआएका बताउँदै आएका छन् । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरे पनि विशेषगरि ग्रामिण तथा विकट क्षेत्रमा अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।
यसैबीच दिवसका अवसरमा आज महिला तथा समाज कल्याण मन्त्रालयको संयोजकत्वमा बिहान प्रभातफेरि र दिउँसो विभिन्न अन्तरक्रिया कार्यक्रम गरिँदैछ । यस्तै एनआरएनए महिला मञ्चलगायत अन्य गैरसरकारी संघसंस्थाले पनि विशेष कार्यक्रमको आयोजना गरेका छन् । यसैबीच दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै महिलाको सामाजिक, राजनीतिक, आर्थिक सशक्तीकरणका साथै सर्वाङ्गीण विकासका लागि सामाजिक जागरण एवं प्राप्त उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चित गनुपर्ने बताउनुभयो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनुभयो । -रेडियो कान्तिपुरबाट