Aamsanchar

झिलझिलेमा महापुराण शुरु/कसैले पनि धर्म, जातजातिका नाममा राजनीति गर्न नहुने धारणा

Author Image
बिहिवार, फागुन २४, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।


झापाको झिलझिलेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यावसायिक शिक्षालय, शिवसताक्षी–११ झिलझिलेको पूर्वाधार विकासका लागि उक्त पुराण शुरु भएको हो ।

महायज्ञको उद्घाटन गर्दै अनन्त श्री विभुषित महामण्डलेश्वर हेमानन्द गिरी महाराजले कसैले पनि धर्मको नाममा राजनीतिक गर्छ भने त्यो राजीनितिज्ञ नभइ समाजमा कलह फैलाउने दुषित किरा भएको बताइन् । उनले कसैले नाक चुच्चे, नाक थेप्चेको नाममा राजनीति गर्छ भने त्यसलाई शीर उठाउन नदिन समेत आम नेपाली समुदायसंग आग्रह समेत गरिन् । आम नेपाली जनताहरु संगठित भएर धर्मलाई जात विशेष, धर्म विशेष नभइ हातेमालो भएर संगठित हुनुपर्ने जोड दिइन् ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिजो नेपाली समाज मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी, विपी कोइरालाको नाममा विभाजित थियो, उनीहरु अन्र्तराष्ट्रिय स्तरका थिए तर नेपाली समाजले त्यसलाई स्वीकार गरेन, अब उनीहरुको नाममा प्रतिष्ठान खडा गरी देश विकास निर्माण गर्नमा लागेमा उनीहरुप्रति सच्चा सम्मान हुने औंल्याए ।

अर्का विशिष्ट अतिथि झापा क्षेत्र नं. ५ का पूर्व सभासद् तथा नेकपा एमालेका सदस्य तारासम याङ्याले राजनीतिलाई एक कुनामा राखेर सच्चा सद्भाव राखी सबैले हातेमालो गर्दै अघि बढ्नमा जोड दिदैं प्रतिष्ठानको हरेक कार्यमा सहयोग गर्ने वचनवद्धता जाहेर गरेका थिए । उनले धर्मले सकारात्मक बाटोमा हिँडाउन मद्दत गर्ने र मानिसलाई नैतिकवान बनाउने हुँदा कुनै पार्टी, सम्प्रदायमा नलाग्न अनुरोध गरे ।

झिलझिलेस्थित शिव मन्दिर प्राङ्गणबाट शुरु भएको कलश यात्राले झिलझिले बजार, दूधे बजार परिक्रम गर्दै कनकाई माईको पवित्र जल मण्डपमा ल्याएपछि प्रमुख अतिथिद्वारा पानसमा दीयो जलाइ तथा स्वास्ति वाचन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । कलश यात्रामा विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूह, विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रखर पण्डित दीनवन्धु पोखरेलको प्रमुख वाचनमा सुसम्पन्न हुन लागेको उक्त महापुराणमा विशेष दानबीरको तर्फबाट नन्दराज राईको मन्तव्य समेत रहेको कार्यक्रमको स्वागत ज्ञानेन्द्र न्यौपाने, कार्यक्रमको औचित्य माथि संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति सन्तोष कुमार मेन्याङ्बो तथा कार्यक्रम सञ्चालन गोविन्द काफ्लेको रहेको थियो ।

प्रतिष्ठानले आफ्नो स्वामित्वमा रहेको १० विगाह जग्गा मध्ये ३÷३ विगाहामा प्राविधिक शिक्षालय र १ सय सैयाको अस्पताल निर्माण सहयोेगार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको हो भने अन्य खाली स्थानहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला र १५ सय क्षमताको सभाहल, गणेशमान सिंह पार्कको लागि गुरु योजनासहित पुराण आयोजना गरिएको हो ।

उक्त महापुराण फाल्गुण २३ गतेबाट शुरु भई २९ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)